राज्यको लगानीमा जनताको निगरानी नभए मुलुकमा कुशासन मौलाउँछः राष्ट्रपति

97 Shares

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको लगानीमा जनताको निगरानी नभए मुलुकमा कुशासन मौलाउने बताउनुभएको छ। 

राष्ट्रिय सूचना आयोगको १८ औं स्थापना दिवसको अवसरमा राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले यस्तो बताउनुभएको हो । उहाँले राज्यको लगानीमा जनताको निगरानी नभए विधिको शासन अवरुद्ध हुने र सरकार तथा सार्वजनिक निकायमा स्वेच्छाचारिता बढ्ने जिकिर गर्नुभयो । लोकतन्त्रमा नागरिकलाई सशक्त बनाउन राज्यको लगानीमाथि उनीहरुको निगरानी बढाउन र शासन प्रणालीलाई पारदर्शी बनाउन विश्वव्यापीरुपमा सूचनाको हकको आन्दोलनले व्यापकता पाउँदै आएको उल्लेख गर्नुभयो । 

सूचनाको हकलाई संविधानमा नै मौलिक हकको रुपमा व्यवस्था गर्ने दक्षिण एशियाकै पहिलो देश नेपाल भएको बताउँदै उहाँले नागरिकको करबाट उठेको सार्वजनिक कोषबाट गरिने खर्च र सरकारको काम कारबाही नागरिकप्रति जवाफदेही हुनैपर्ने बताउनु भयो । लोकतन्त्रको लाभ नागरिकसम्म पुर्याउन उनीहरुको सशक्तिकरण आवश्यक रहेको भन्दै सरकार र सार्वजनिक निकायको सूचनामा नागरिकको पहुँच सुनिश्चित नभएसम्म लोकतन्त्रको संस्थागत विकास सम्भव नरहेको बताउनु भयो । पारदर्शिता र जवाफदेहिता, सहभागितामुलक लोकतन्त्रको आधारभूत आवश्यकता भएको उल्लेख गर्नुभयो । 

राष्ट्रपति पौडेलले सूचना नै लोकतन्त्रको प्राणवायु भएको बताउनु भयो । सूचनाको हकले सरकार र सार्वजनिक निकायको काम, कारबाहीप्रति नागरिकको परीक्षण र मूल्यांकन गराउने बताउनु भयो । सुसूचित समाजले मात्रै लोकतन्त्रलाई क्रियाशील गराउने बताउनु भयो ।