आर्थिक सुधारमा सरकारको आक्रामक तयारी, दुई साताभित्र ३५ कार्यक्रम सार्वजनिक गरिने

65 Shares

मुलुकको सुस्त आर्थिक गतिविधिलाई गति दिन सरकारले सुधारको नयाँ प्याकेज ल्याउने तयारी गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी दुई साताभित्र ३० देखि ३५ वटा आर्थिक सुधारका कार्यक्रम सार्वजनिक गर्ने बताएका छन् । सरकारले बजेटको नियमित चक्र कुर्नुभन्दा तत्कालै नीतिगत परिवर्तन अघि बढाउने रणनीति लिएको छ ।

यसले उद्योग, व्यवसाय, लगानी र राजस्व प्रशासनमा देखिएका समस्यालाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ । अर्थमन्त्री वाग्लेले आर्थिक सुधारलाई एउटा बजेट वा घोषणामा सीमित नराखी निरन्तर अघि बढाउने स्पष्ट पारेका छन् । आगामी चरणमा कानुनी जटिलता हटाउने कामलाई समेत तीव्रता दिइनेछ ।

त्यसका लागि ५० देखि ६० वटा ऐनका करिब ५०० दफा संशोधन गर्ने योजना बनाइएको छ । कर प्रणालीलाई थप व्यवस्थित बनाउने, निजी क्षेत्रको मनोबल बढाउने र पुँजीबजारलाई सुधार गर्ने विषय पनि सरकारको प्राथमिकतामा रहेका छन् ।

अर्थमन्त्रीले यसअघि अघि सारिएका राहत तथा सुधारका कार्यक्रमको प्रभावकारिता मूल्यांकन गर्दै आवश्यकताअनुसार थप नीतिगत परिवर्तन गरिने संकेत गरेका छन् । अब सार्वजनिक हुने नयाँ कार्यक्रमले व्यवसायीको लगानी वातावरण, रोजगारी सिर्जना र आर्थिक गतिविधिमा कस्तो परिवर्तन ल्याउँछ भन्ने विषय महत्वपूर्ण हुनेछ । सरकारको आगामी कदमले अर्थतन्त्रमा सुधारको गति बढाउने अपेक्षा गरिएको छ ।