छठ पर्वले सामाजिक सद्भाव र एकताको सन्देश दिन्छ : सभापति थापा

18 Shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले छठ पर्वले प्रकृतिप्रतिको सम्मान, जीवनप्रतिको कृतज्ञता र सामाजिक सद्भावको महत्वपूर्ण सन्देश दिने बताएका छन् ।

छठ पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै सभापति थापाले सूर्य उपासना र प्रकृतिप्रतिको श्रद्धासँग जोडिएको यस पर्वले मानिसलाई अन्धकारबाट उज्यालोतर्फ अघि बढ्न प्रेरणा दिने उल्लेख गरेका छन् ।

उनले छठ पर्व केवल धार्मिक आस्थासँग मात्र नभई प्रकृति, पर्यावरण र मानव जीवनबीचको सम्बन्धलाई सम्मान गर्ने सांस्कृतिक पर्वका रूपमा पनि महत्वपूर्ण रहेको बताएका छन् ।

सभापति थापाले छठ पर्वले समाजमा आपसी सद्भाव, सामाजिक एकता र सकारात्मक ऊर्जाको सञ्चार गर्ने विश्वास व्यक्त गरेका छन् । विविध समुदाय र संस्कृतिबीच आत्मीयता तथा सहअस्तित्वको भावना अभिवृद्धि गर्न यस्ता पर्वले महत्वपूर्ण भूमिका खेल्ने उनको सन्देशमा उल्लेख छ ।

छठ पर्वको अवसरमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइको जीवनमा सुख, शान्ति, समृद्धि र आरोग्यको कामना गरेका छन् ।

सूर्यदेवको आराधना र प्रकृतिप्रतिको श्रद्धाका साथ मनाइने छठ पर्वले समाजमा सद्भाव, सहकार्य र सकारात्मक सोचलाई थप बलियो बनाउने विश्वाससमेत उनले व्यक्त गरेका छन् ।