काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारमा आवश्यक पर्ने भाईमसलाको मूल्यमा वृद्धि भएका कारण अपेक्षित कारोबार हुन नसकेको व्यवसायीहरुले गुनासो गरेका छन् ।
विगतका तिहारमा जस्तो यसपटक भाईमसलाको कारोवार अपेक्षित रुपमा कम भएको उनीहरुको भनाई छ । भाइमसला व्यवसायी सजीव बज्राचार्यकाअनुसार नयाँ फसल भित्रिएसँगै भाईमसलाको मुल्यवृद्धि भएको हो । विशेषगरी पिस्ता र बदामको मूल्य केही बढेको उहाँले बताउनुभयो । गत वर्षको तुलनामा यस वर्ष तिहार १० देखि १५ दिन ढिलो परेकाले नयाँ फसलका सामग्री बजारमा आएको उहाँको भनाई छ । सोही कारण केही वस्तुको मूल्यमा वृद्धि भएको हो ।
ओखर र नरिवललगायतका सामग्रीमा प्रतिकिलो १०० देखि १५० रुपैयाँसम्म मूल्य वृद्धि भएको उनले जानकारी दिए । उनकाअनुसार मूल्य बढेका कारण उपभोक्ताको खरिद क्षमतामा प्रभाव परेको छ । पहिले एक किलो भाइमसला किन्ने ग्राहकले आधा किलो तथा आधा किलो किन्ने ग्राहकले २०० ग्राम वा १०० ग्राम मात्रै खरिद गर्ने गरेको उनले बताए ।
तिहारको भाईटीकामा दाजुभाइलाई भाइमसला दिने परम्परा लामो समयदेखि चल्दै आएको छ । मूल्य वृद्धिका कारण खपतमा केही कमी देखिएपनि व्यापार सन्तोषजनक रहेको उनको भनाई छ ।
यस्तै, तिहारमा ढाकाटोपीको विक्री भने उत्साहजनक रहेको व्यवसायीहरुको भनाई छ । तिहारमा दाजुभाईलाई ढाकाटोपी लगाइदिएर टीका लगाउने परम्परा रहेको छ ।
तिहारको लागि टोपीको माग उल्लेख्य रहेको व्यवसायीहरुले बताएका छन् । उनीहरुकाअनुसार सामान्य समयको तुलनामा तिहारमा ढाकाटोपीको विक्री दुईदेखि तीन गुणासम्म बढेको छ ।
ग्राहकको मागलाई ध्यानमा राख्दै व्यवसायीहरूले विभिन्न डिजाइन र गुणस्तरका ढाकाटोपी पर्याप्त मात्रामा मौज्दात राखेको बताएका छन् ।
तिहारमा दिदिबहिनीले दाजुभाईलाई टीका लगाएर भाईमसला, ढाकाटोपी, मिठाई लगायत उपहारका रूपमा दिने परम्परा रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया