वर्षौँको अन्योलपछि माथिल्लो कर्णाली आयोजना अघि बढाउने तयारी

61 Shares

लामो समयदेखि लगानी जुटाउने प्रक्रियामा अल्झिएको ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणतर्फ अघि बढ्ने भएको छ । लगानी बोर्ड नेपालको ६८औँ बैठकले आयोजना विकास सम्झौताका प्रावधानले निर्माण तत्काल अघि बढाउन आवश्यक सहजीकरण गर्ने निर्णय गरेपछि आयोजना फेरि चर्चामा आएको हो ।

भारतको जीएमआर समूहले विकास गरिरहेको यो आयोजना पश्चिम नेपालमा अवस्थित छ । सन् २००८ मा आयोजना विकासका लागि प्रारम्भिक समझदारी भएको थियो भने सन् २०१४ सेप्टेम्बर १९ मा लगानी बोर्ड र जीएमआरबीच आयोजना विकास सम्झौता भएको थियो ।

सुरुमा ३०० मेगावाट क्षमताको प्रस्ताव गरिएको आयोजनाको क्षमता पछि बढाएर ९०० मेगावाट पु¥याइएको थियो । आयोजनामा लगानी जुटाउने विषय लामो समयदेखि प्रमुख चुनौती बन्दै आएको थियो । जीएमआरले सन् २०२५ जनवरीमा वित्तीय व्यवस्थापनसम्बन्धी कागजात पेस गर्दै भारतीय नवीकरणीय ऊर्जा विकास निकायबाट ६५ अर्ब भारतीय रुपैयाँ ऋणको सकारात्मक प्रतिक्रिया पाएको र नेपाली बैंकहरूको समूहबाट २० अर्ब रुपैयाँ ऋणका लागि सैद्धान्तिक सहमति प्राप्त भएको जनाएको थियो ।

आयोजना निर्माणको समयसीमा तथा वित्तीय व्यवस्थापनको विषयलाई लिएर कानुनी विवादसमेत भएको थियो ।