भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको क्षति व्यवस्थापनका लागि नेपालले मागेको आपत्कालीन आर्थिक सहयोगबारे अन्तर्राष्ट्रिय जलवायु कोषले आज छलफल गर्ने भएको छ ।
जलवायुजन्य क्षति तथा नोक्सानी सम्बोधन गर्ने कोष (एफआरएलडी) को सञ्चालक समितिको विशेष बैठकमा नेपाललाई २ करोड अमेरिकी डलर सहयोग उपलब्ध गराउने प्रस्तावमाथि विचार गरिने भएको हो । प्रस्तावित रकम स्वीकृत भइसकेको भने छैन । गत अगस्ट २६ मा हिमाली क्षेत्रमा आएको हिउँ र चट्टानसहितको पहिरोपछि भोटेकोशी–त्रिशूली–नारायणी नदी प्रणालीमा ठूलो बाढी आएको थियो ।
बाढीले बस्ती, सडक, पुल तथा अन्य पूर्वाधारमा क्षति पु¥याउनुका साथै स्थानीयको जनजीवन र जीविकोपार्जनमा असर पारेको थियो । त्यसपछि नेपाल सरकारले अगस्ट ३१ मा कोषसमक्ष तत्काल आर्थिक सहयोग उपलब्ध गराउन औपचारिक आग्रह गरेको थियो । बाढीबाट भएको आर्थिक क्षति कम्तीमा २ अर्ब ६९ करोड अमेरिकी डलर पुगेको छ ।
पुनःस्थापना र पुनर्निर्माणका लागि भने कम्तीमा ४ अर्ब ७१ करोड अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको छ । यस अवस्थामा प्रस्तावित सहयोग रकम नेपालको समग्र पुनर्निर्माण आवश्यकताभन्दा निकै कम भए पनि प्रभावित क्षेत्रको पुनःस्थापना प्रयासमा सहयोग पुग्न सक्ने अपेक्षा गरिएको छ । कोषको बैठकमा नेपाललाई सम्भावित सहयोगका लागि २ करोड अमेरिकी डलर र अनुगमनसम्बन्धी खर्चका लागि १६ लाख अमेरिकी डलरसहित कुल २ करोड १६ लाख डलर छुट्याउने प्रस्ताव पनि छलफलका लागि राखिएको छ ।
नेपालले नियमित आवेदन अवधिबाहिर पनि सहयोग माग गर्न सक्ने प्रक्रिया परीक्षण गर्ने विषयसमेत समेटिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया