झापाको बिर्तामोडस्थित बडी ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

11 Shares

झापाको बिर्तामोडमा बिहीबार बिहान ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। आगलागीबाट तीनवटा खसीबाख्रासहित करिब तीन लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

बिर्तामोड नगरपालिका–२ रामचोकस्थित ध्रुव भट्टराईको जग्गामा बनेको टिनको छानो भएको घरमा सञ्चालित बडी ग्यारेजको क्यान्टिनमा बिहान ४:१० बजे आगलागी भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ। बिर्तामोड–४ का रवि राजवंशीले सञ्चालन गर्दै आएको ग्यारेजको क्यान्टिनमा विद्युत् सर्ट भएर आगो लागेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।

आगलागीको खबर पाएलगत्तै प्रहरी, दमकल र स्थानीयवासी घटनास्थल पुगेका थिए। उनीहरूको संयुक्त प्रयासमा बिहान ४: ३० बजे आगो नियन्त्रणमा लिइएको थियो। आगो निभाएपछि क्यान्टिनभित्र जलेको अवस्थामा गौरीगञ्ज नगरपालिका–२ का ६५ वर्षीय रुद्रबहादुर तामाङको शव फेला परेको प्रहरीले जनाएको छ। उनी उक्त क्यान्टिनमा काम गर्दै आएका थिए। आगलागीबाट क्यान्टिनमा रहेका भाँडाकुँडा, लत्ताकपडा, तीनवटा खसीबाख्रा र एक लाख रुपैयाँ नगद जलेर नष्ट भएका छन्। प्रारम्भिक विवरणअनुसार क्यान्टिनतर्फ करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ।

त्यसैगरी, क्यान्टिनसँगै जोडिएको राजेन्द्र अग्रवालले सञ्चालन गरेको मार्बल तथा टायल्स गोदाममा समेत आगो सल्किएको थियो। दमकलले आगो निभाउने क्रममा गोदाममा रहेका २० देखि २५ बोरा सिमेन्ट भिजेर करिब २५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। आगलागीबाट भएको क्षतिको थप विवरण संकलन तथा घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।