साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीसहित दुई जनाको मृत्यु

49 Shares


साउदी अरबमा ड्रोन रोक्ने क्रममा खसेको भग्नावशेष लागेर एक नेपालीसहित दुई विदेशी नागरिकको मृत्यु भएको छ । घटनामा अन्य दुई जना घाइते भएका छन् । साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा बुधबार बिहान भएको घटनाबारे त्यहाँको ऊर्जा मन्त्रालयले जानकारी दिएको हो । साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा रहेको प्रशोधन केन्द्रलाई लक्षित गरी आएको ड्रोनलाई हवाई प्रतिरक्षा प्रणालीले बीचमै रोकेको थियो । त्यस क्रममा खसेको भग्नावशेषले तेल क्षेत्रमा काम गर्ने ठेकेदार कम्पनीको सवारीसाधनमा आगलागी भएको थियो । उक्त घटनामा नेपाली र फिलिपिनो नागरिकको मृत्यु भएको तथा पाकिस्तानी र भारतीय नागरिक घाइते भएको मन्त्रालयले पुष्टि गरेको छ । घटना तेल प्रशोधन केन्द्रको बाहिरी क्षेत्रमा भएको र यसबाट तेल क्षेत्रको सञ्चालनमा असर नपरेको मन्त्रालयले जनाएको छ । ड्रोन कसले प्रहार गरेको थियो भन्नेबारे पनि सम्बन्धित निकायले स्पष्ट जानकारी दिएको छैन । घटनापछि सम्बन्धित निकायले आवश्यक कदम चालेको जनाइएको छ  । साउदी अरबमा ठूलो सङ्ख्यामा नेपाली श्रमिक कार्यरत रहेकाले यस घटनाले त्यहाँ काम गरिरहेका नेपालीको सुरक्षाबारे चासो बढाएको छ ।