एकादशीका दिन पनि जारी दशैंको टीका, कोजाग्रत पूर्णिमासम्म लगाउन सकिने

16 Shares

काठमाडौं । बडादशैंको टीका र जमरा लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ। मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा ग्रहण गर्दै आशीर्वाद लिने परम्परा कोजाग्रत पूर्णिमासम्म कायम रहने गर्दछ।

नेपालीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म बडादशैं पर्व मनाउने गर्छन्। विजयादशमीका दिनदेखि सुरु हुने टीका लगाउने क्रम टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुग्न नसकेकाहरूले कोजाग्रत पूर्णिमासम्म पनि जारी राख्ने गरेका छन्।

दशैंघर वा पूजाकोठामा आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिअनुसार स्थापना गरिएको घटको अभिषेकसहित टीका र जमरा लगाउने परम्परा छ। विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु हुन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य वेदमणि भट्टराईका अनुसार कतिपय समुदायमा विजयादशमीका दिन मात्रै टीका लगाउने चलन छ भने कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्म टीका लगाउने परम्परा छ।

उनका अनुसार पूर्वी तथा मध्य नेपालका विभिन्न स्थानमा पूर्णिमासम्म टीका लगाइदिने चलन छ। पश्चिम नेपालका कतिपय स्थानमा भने दुर्गा विसर्जनपछि एक दिन मात्रै टीका ग्रहण गर्ने परम्परा रहेको छ।

नेपाली समाजमा स्थान र परिवेशअनुसार फरक–फरक सांस्कृतिक परम्परा रहेकाले टीका लगाउने समयलाई पनि सोहीअनुसार बुझ्नुपर्ने भट्टराईको भनाइ छ।

यसैबीच, आज आश्विन शुक्ल एकादशी अर्थात् पापाङ्कुशा एकादशी पनि मनाइँदैछ। धार्मिक मान्यताअनुसार यस दिन व्रत बसेमा विगतमा जानी–नजानी गरिएका पापबाट मुक्ति मिल्ने विश्वास गरिन्छ।