दशैँदेखि माघसम्म गोकर्णेश्वरमा नचाइने ‘द्य प्याखं’

18 Shares

काठमाडौं। गोकर्णेश्वरको गोकर्ण देशेमा बिजयादशमी देखि सुरु हुने ऐतिहासिक देवी नाच ‘द्य प्याखं’ धार्मिक, सांस्कृतिक र तान्त्रिक परम्पराको जीवन्त उदाहरण हो।

विभिन्न देवीदेवताको मुकुण्डो लगाएर प्रस्तुत गरिने यो नाचमा नवदुर्गा भवानीका गणहरूको स्वरूप झल्काउने पात्रहरू सहभागी हुन्छन्। स्थानीय मान्यताअनुसार, यो नाच लिच्छविकालीन राजा मानदेवको समयदेखि प्रचलनमा आएको हो।

पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको यो परम्परा गोकर्णेश्वर क्षेत्रको मौलिक सांस्कृतिक पहिचानका रूपमा स्थापित रहेको छ। कलाकार र आर्थिक स्रोतको अभावमा वि.सं. २०३८ सालपछि लामो समयसम्म बन्द भएको यो नाचलाई स्थानीय युवा तथा समुदायको सक्रियतामा वि.सं. २०७४ मा पुनः ब्युँताइएको हो।

त्यसयता यो नाच निरन्तर हुँदै आएको छ। विजयादशमीदेखि सुरु हुने ‘द्य प्याखं’ दशैँलगायत विभिन्न चाडपर्व र तिथिमा गोकर्णेश्वर क्षेत्रका डबली तथा सार्वजनिक स्थलमा प्रस्तुत गरिन्छ।

माघ महिनासम्म चल्ने यो परम्पराले स्थानीय धार्मिक आस्था, तान्त्रिक विधि र पुस्तौँदेखि जोगिँदै आएको सांस्कृतिक सम्पदालाई एकै ठाउँमा जोड्छ। ‘द्य प्याखं’ गोकर्णेश्वरको इतिहास र सांस्कृतिक निरन्तरता झल्काउने एउटा जीवित सम्पदा हो।