देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन, सीमावर्ती क्षेत्रमा १०८ सहायता कक्ष

15 Shares

काठमाडौं । दशैँ, तिहार, छठ तथा नेपाल संवत् लगायतका चाडपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर ५० हजारभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरेको छ ।

चाडपर्वका बेला हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण, यात्रुहरूको सुरक्षा तथा सडक दुर्घटना न्यूनीकरणका लागि प्रहरीले सीमावर्ती क्षेत्र, राजमार्ग र प्रमुख शहरहरूमा विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको हो ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेका अनुसार चाडपर्व मनाउन घर फर्किने नागरिकलाई ठगी, लुटपाट तथा अन्य आपराधिक गतिविधिबाट जोगाउन देशभरका सीमावर्ती क्षेत्रका १०८ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । ती सहायता कक्षबाट २४ सै घण्टा सेवा प्रवाह भइरहेको उनले जानकारी दिए ।

काफ्लेले चाडपर्वका बेला नागरिकको सुरक्षा सुनिश्चित गर्न सीमावर्ती क्षेत्रदेखि प्रमुख शहर र राजमार्गसम्म प्रहरी परिचालन गरिएको बताए । उनका अनुसार सुरक्षा व्यवस्थालाई व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश प्रहरी कार्यालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा सबै जिल्ला प्रहरी कार्यालयमा कमान्ड सेन्टर स्थापना गरी सुरक्षा योजना कार्यान्वयन भइरहेको छ ।

‘दशैँ, तिहार, छठ तथा नेपाल संवत्का अवसरमा सुरक्षा व्यवस्था मिलाउन ५० हजारभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरिएको छ । देशभरका सीमावर्ती क्षेत्रमा १०८ वटा नागरिक सहायता कक्ष स्थापना गरी २४ सै घण्टा सेवा सञ्चालन गरिएको छ,’ प्रवक्ता काफ्लेले भने, ‘चाडपर्व मनाउन घर फर्किने नागरिकलाई लुटपाट, ठगी तथा अन्य आपराधिक गतिविधिबाट जोगाउन र आवश्यक प्रहरी सेवा सहज रूपमा उपलब्ध गराउन यी कक्ष सञ्चालनमा ल्याइएको हो ।’

प्रहरी प्रधान कार्यालयका अनुसार केन्द्रीय एकीकृत सुरक्षा योजनाको आधारमा जिल्ला सुरक्षा समितिमार्फत स्थानीय आवश्यकता र अवस्थाअनुसार छुट्टाछुट्टै सुरक्षा योजना तर्जुमा गरी कार्यान्वयन गरिएको छ ।

चाडपर्वका बेला यात्रुहरूको चाप बढ्ने र लामो दूरीका सवारीसाधनको आवागमन बाक्लिने भएकाले प्रहरीले सडक सुरक्षामा समेत निगरानी बढाएको छ । सडक दुर्घटना न्यूनीकरण गर्न सूचनामा आधारित विशेष जाँच प्रणाली लागू गरिएको छ । विशेषगरी काठमाडौंको नागढुङ्गा हुँदै चितवन जोड्ने सडकखण्डसहित प्रमुख लोकमार्गहरूमा निगरानी तीव्र पारिएको काफ्लेले बताए ।

लामो दूरीका यात्रुवाहक सवारीसाधन छुट्ने प्रमुख प्रस्थानबिन्दुमा चालकको अनुमतिपत्र जाँच गर्ने, मादक पदार्थ तथा लागुऔषध सेवन गरे–नगरेको परीक्षण गर्ने र सवारीसाधनको यान्त्रिक अवस्था जाँच गर्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । यातायात व्यवस्था कार्यालय तथा सम्बन्धित प्राविधिक निकायसँग समन्वय गरी यान्त्रिक परीक्षणपछि मात्रै लामो दूरीका सवारीसाधनलाई प्रस्थान अनुमति दिने व्यवस्था गरिएको काफ्लेले जानकारी दिए ।

‘सडक दुर्घटना न्यूनीकरणका लागि लामो दूरीका बस छुट्नुअघि चालकको अनुमतिपत्र जाँच, मादक पदार्थ तथा लागुऔषध सेवन परीक्षण र सवारीसाधनको यान्त्रिक परीक्षण गर्ने व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘साथै, लामो दूरीमा दुई जना चालक अनिवार्य राख्ने व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको छ ।’

लामो दूरीका सवारीसाधनमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्ने कानुनी प्रावधान कार्यान्वयन गराउन ट्राफिक प्रहरी सक्रिय रहेको पनि काफ्लेले बताए ।

चाडपर्वका समयमा हुनसक्ने चोरी, ठगी, लुटपाट तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्नुका साथै यात्रुलाई सुरक्षित यात्रा सुनिश्चित गर्ने उद्देश्यले विशेष सुरक्षा योजना लागू गरिएको नेपाल प्रहरीले जनाएको छ ।