वैदेशिक रोजगारीका लागि कतार पुगेका नेपाली श्रमिकले भोग्ने समस्या समाधानमा सहयोग गर्दै आएका मोहम्मद रमजान अली मियाँ प्रवासी नेपालीका लागि सहयोगी व्यक्तिका रूपमा स्थापित भएका छन् ।
करिब १९ वर्षदेखि कतारमा रहेका उनी श्रमिकका अधिकार, कानुनी सहायता र मानवअधिकारका विषयमा निरन्तर सक्रिय छन् । अरबी भाषा र साहित्यमा उच्च शिक्षा हासिल गरेका रमजानले कतारमा नेपाली श्रमिकले भोग्ने समस्यालाई त्यहाँको भाषामै उठाउने प्रयास गरका हुन ।
नेपाली कामदारका समस्या र समाधानका उपायबारे अरबी भाषामा लेख लेखेपछि सम्बन्धित निकायले उनीसँग सोधपुछसमेत गरेको थियो । नेपाली श्रमिकका गुनासा नजिकबाट बुझेका उनले समस्याको समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्दै आएका छन् । श्रमिकले आफ्नो अधिकार बुझ्न सकून् भन्ने उद्देश्यले उनले सन् २००९ मा कतारको श्रम कानुन नेपाली भाषामा अनुवाद गरेका थिए ।
पारिश्रमिक नपाउने, श्रम शोषणमा पर्ने र मानवअधिकार उल्लङ्घनका घटनामा परेका नेपालीलाई कानुनी जानकारी तथा सहयोग उपलब्ध गराउन उनले विभिन्न पुस्तक र निर्देशिकासमेत तयार पारेका छन् । नेपाली समुदायलाई कतारका विभिन्न सामाजिक तथा मानवीय संस्थासँग जोड्न पनि उनले भूमिका खेलेका छन् । रमजानको योगदान श्रमिकका समस्या समाधानमा मात्र सीमित छैन ।
सन् २०१५ मा नेपालमा गएको भूकम्पका पीडितका लागि कतार टेलिभिजनमार्फत सञ्चालन गरिएको अभियानबाट करिब तीन करोड कतारी रियाल सहयोग सङ्कलन गर्न उनले पहल गरेका थिए ।
नेपाली भाषा, कला र संस्कृतिको पहिचान विस्तार तथा नेपाल–कतारबीच सहकार्य बढाउने प्रयासमा समेत सक्रिय रहेका रमजानको कामले प्रवासमा श्रमिकको अधिकार र मानवीय सहयोगको महत्त्वलाई उजागर गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया