काठमाडाैं । आन्तरिक राजश्व विभागद्वारा सञ्चालित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकको १० लाख रुपैयाँ राशिको बम्पर उपहार नुवाकोटकी सन्तमाया तामाङले जितेकी छन् ।
दशैंका अवसरमा नुवाकोटस्थित ‘एस.एस. फेन्सी हाउस’ बाट ३ हजार रुपैयाँको सामग्री खरिद गरी बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथा प्रणालीमार्फत बम्पर उपहारका लागि छनोट भएको हो ।
काठमाडौंको विशाल बजारमा आयोजित प्रत्यक्ष कार्यक्रममार्फत चर्चित कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले कम्प्युटर प्रणालीको बटन थिचेर बम्पर तथा दैनिक विजेताहरूको घोषणा गरेका थिए । विजेता घोषणा भएलगत्तै कलाकारद्वयले कार्यक्रमस्थलबाटै तामाङलाई टेलिफोनमार्फत १० लाख रुपैयाँ जितेको जानकारी गराएका थिए ।
शुरुमा कसैले जिस्क्याएको ठानेकी तामाङलाई कलाकारहरूले नेपाल सरकारको आधिकारिक करदाता प्रोत्साहन योजना भएको आश्वस्त पारेका थिए । आन्तरिक राजश्व विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालकाअनुसार उपभोक्तामाझ बिल लिने बानीको विकास गर्न यो कार्यक्रम लागू गरिएको हो ।
असोज १६ देखि ३१ गतेसम्मको अवधिमा बिल प्रविष्ट गर्ने २ लाख ७५ हजार ८ सय ८४ र क्युआर भुक्तानीमार्फत स्वतः दर्ता भएका ३ करोड ७४ लाख ७८ हजार ३ सय ८० गरी कुल ३ करोड ७७ लाख ५५ हजार २ सय ६४ कारोबार यस प्रक्रियामा सहभागी भएका थिए ।
विभागले बम्पर उपहारका अतिरिक्त असोज १६ देखि ३१ गतेसम्मका प्रत्येक दिनका १/१ जना गरी कुल १६ जना दैनिक विजेतालाई जनही १ लाख ३३ हजार ३ सय ३४ रुपैयाँ (कर कट्टीपछि खुद १ लाख रुपैयाँ) समेत घोषणा गरेको छ ।
बम्पर विजेता सन्तमाया तामाङलगायत सम्पूर्ण विजेताहरूले दशैँ बिदा सकिएपछि आगामी कात्तिक १५ गतेभित्र आफूले खरिद गरेको सक्कल बिलसहित नजिकैको आन्तरिक राजश्व कार्यालयमा पुगेर रकम दाबी गर्नुपर्ने विभागले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया