मिथिलाका शक्तिपीठमा दुर्गाको ‘खोइछ’ भर्ने महिलाको घुइँचो, सन्तानको दीर्घायु र सौभाग्यको कामना

16 Shares

काठमाडौं । जनकपुरधामसहित मिथिला क्षेत्रका प्रमुख शक्तिपीठहरूमा यतिबेला विवाहित महिलाहरूले पारिवारिक सुख, सन्तानको दीर्घायु र अखण्ड सौभाग्यको कामना गर्दै देवी दुर्गाको ‘खोइछ’ भर्ने धार्मिक अनुष्ठान शुरु गरेका छन् ।

दशैँको नवरात्र शुरु भएसँगै प्रसिद्ध राजदेवी मन्दिर लगायतका शक्तिपीठहरूमा परम्परागत विधिअनुसार खोइछ चढाउने श्रद्धालु महिलाहरूको उल्लेख्य भीड लागेको हो ।

मिथिला संस्कृतिमा विशेष महत्व राख्ने यो परम्पराअनुसार विवाहित महिलाहरूले धान, दुबो, बेसारको गिँड, सिन्दुर, सुपारी, पान र दक्षिणासहितको पोको तयार पारेर भगवती दुर्गाको पोल्टामा अर्पण गर्छन् ।

असोज शुक्ल प्रतिपदाका दिन माइत आएकी देवी भगवती नवरात्रभर बस्ने र विजयादशमीका दिन ससुराली प्रस्थान गर्ने जनविश्वासका आधारमा खोइछ भर्ने चलन रहिआएको छ ।

जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको राजदेवी मन्दिरमा बिहानैदेखि खोइछ भर्ने महिलाहरूको लामो लाम लागेको छ । नवदुर्गाको विशेष आराधना गर्ने मैथिल नारीहरूले यस अनुष्ठानलाई नारी शक्तिको सम्मान र सन्तानको रक्षासँग जोडेर हेर्ने गर्दछन् ।

सांस्कृतिक अध्येताहरूकाअनुसार खोइछ भर्ने परम्परा प्रत्यक्ष रूपमा कोख र मातृवात्सल्यासँग जोडिएको छ । भगवती दुर्गाको सामीप्यले जीवनमा आनन्द, सुख, आरोग्य र ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास छ । छोरीलाई माइतबाट बिदाइ गर्दा घरमा अन्नपूर्णाको बास होस् र भोकमरी नहोस् भनी आँचलभर खोइछ दिएर पठाउने प्राचीन मौलिक चलनलाई शक्तिपीठमा देवी दुर्गाको विग्रहसँग जोडेर निरन्तरता दिइएको हो ।

नवरात्रको अन्तिम चरण नजिकिँदै गर्दा मधेस प्रदेशका विभिन्न जिल्लामा रहेका शक्तिपीठ तथा दुर्गा पूजा पण्डालहरूमा यो परम्परा भव्य रूपमा सञ्चालन भइरहेको छ, जसले मिथिलाको सांस्कृतिक तथा पारिवारिक सम्बन्धको गहिराइलाई उजागर गरेको छ ।