नेपालका ८० स्वास्थ्य तथा आरोग्य पर्यटन गन्तव्यको सूची तयार

156 Shares

नेपालमा स्वास्थ्य तथा आरोग्य पर्यटनको सम्भावना भएका गन्तव्य पहिचान गरी तिनको विकास र अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय विवरण तथा रणनीति तयार गर्ने काम अघि बढाइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा बुधबार काठमाडौंको लाजिम्पाटस्थित होटल शंकरमा स्वास्थ्य तथा आरोग्य पर्यटनको ब्रान्डिङ, बजारीकरण रणनीति र राष्ट्रिय गन्तव्य विवरणसम्बन्धी छलफल तथा प्रमाणीकरण कार्यशाला आयोजना गरिएको हो ।

 विभिन्न स्रोतबाट सङ्कलित ८०४ वटा गन्तव्यसम्बन्धी अभिलेख अध्ययन गरी स्वास्थ्य तथा आरोग्य पर्यटनसँग सम्बन्धित ३१७ वटा गन्तव्य पहिचान गरिएको छ । गन्तव्यको भौगोलिक अवस्थिति, पर्यटकीय आकर्षण, यातायात तथा स्वास्थ्य सेवामा पहुँच, आवास सुविधा, सुरक्षा, स्थानीय समुदायको सहभागिता र लगानीको सम्भावनालाई मूल्याङ्कनका आधार बनाइएको छ ।


तयार गरिएको सूचीलाई समयअनुसार अद्यावधिक गर्न सकिने राष्ट्रिय अभिलेखका रूपमा विकास गर्ने योजना रहेको छ । यसबाट कुन गन्तव्य विकासको प्रारम्भिक चरणमा छन्, कुनमा पूर्वाधार थप्न आवश्यक छ र कुनलाई पर्यटन प्रवद्र्धन तथा लगानीका लागि अघि बढाउन सकिन्छ भन्ने पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा पर्यटन विज्ञ सुदीप भजुले नेपालको मौलिक पहिचान झल्किने ब्रान्ड निर्माण, लक्षित अन्तर्राष्ट्रिय बजारको पहिचान र प्रभावकारी बजारीकरणमा जोड दिएका छन् । स्वास्थ्य तथा आरोग्य पर्यटनसँग सम्बन्धित अभ्यास र सेवा विस्तार गर्दै नेपाललाई स्वस्थ तथा अर्थपूर्ण जीवनशैलीको गन्तव्यका रूपमा स्थापित गर्ने विषयमा पनि छलफल भएको छ ।