साउदी अरबको तेल ढुवानी क्षमता दैनिक एक करोड ब्यारेल पु¥याउने योजना

137 Shares

साउदी अरबले आफ्नो रणनीतिक महत्त्वको पूर्व–पश्चिम तेल पाइपलाइनमार्फत दैनिक एक करोड ब्यारेलसम्म तेल ढुवानी गर्न सक्ने क्षमता विकास गर्ने योजना अघि सारेको छ । रियादमा आयोजित २५औँ विश्व पेट्रोलियम सम्मेलनमा ऊर्जा मन्त्री राजकुमार अब्दुलअजिज बिन सलमानले यस्तो योजना सार्वजनिक गर्नुभएको हो । आगामी दुईदेखि तीन वर्षभित्र लक्ष्य हासिल गर्ने साउदी अरबको तयारी छ ।

विश्व ऊर्जा आपूर्तिमा देखिएका अवरोध र भू–राजनीतिक तनावका बीच तेल ढुवानीका वैकल्पिक मार्ग बलियो बनाउने उद्देश्यले यो योजना अघि सारिएको हो । हाल उक्त पाइपलाइनको अधिकतम ढुवानी क्षमता दैनिक करिब ७० लाख ब्यारेल रहेको छ । क्षमता बढाउन पम्पिङ केन्द्र तथा सम्बन्धित पूर्वाधारको स्तरोन्नति गर्ने र थप लगानी गर्ने तयारी गरिएको छ ।

साउदी अरबले तेल ढुवानी क्षमता बढाउन प्राकृतिक ग्यास ओसारपसारका लागि प्रयोग हुँदै आएको एउटा पाइपलाइनलाई अस्थायी रूपमा तेल ढुवानीमा प्रयोग गर्ने विकल्पसमेत अघि सारेको छ । यसबाट छोटो अवधिमै दैनिक १२ लाख ब्यारेलसम्म थप तेल निर्यात गर्न सकिने अपेक्षा गरिएको छ । आवश्यक पूर्वाधार विस्तार र लगानीमार्फत तेल आपूर्तिका वैकल्पिक मार्गलाई थप प्रभावकारी बनाउने साउदी अरबको लक्ष्य छ ।

पेट्रोलियम निर्यातक देशहरूको संगठनका महासचिव हैथम अल घैसले पनि विश्व ऊर्जा बजारको स्थिरताका लागि साउदी अरबको पाइपलाइन पूर्वाधार महत्त्वपूर्ण रहेको बताउनुभएको छ । यो योजना कार्यान्वयन भएमा खाडी क्षेत्रबाट तेल ढुवानीमा अवरोध उत्पन्न हुँदा समेत वैकल्पिक मार्गबाट अन्तर्राष्ट्रिय बजारमा तेल पु¥याउन सहज हुने अपेक्षा गरिएको छ ।