पुराना नेताहरूलाई भ्रष्टाचारीको आरोप लगाउने भाष्यप्रति राजेन्द्र पाण्डेको आपत्ति

73 Shares

नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले पुराना राजनीतिक दलका सबै नेता तथा कार्यकर्तालाई भ्रष्टाचारी र गलत देखाउने गरी भाष्य निर्माण भइरहेको भन्दै आपत्ति जनाउनुभएको छ । सोमबार काठमाडौंमा महेन्द्रप्रकाश शिवाकोटीद्वारा लिखित ‘देश विकासको प्रस्तावना’ र ‘राजनीतिक चेतना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले राजनीतिक व्यक्तिहरूको मूल्याङ्कन सबैलाई एउटै दृष्टिकोणबाट गर्नु उचित नहुने बताउनुभयो ।

२०४८ सालदेखि २०७९ सालसम्म लगातार सांसद रहेको उल्लेख गर्दै पाण्डेले आफू भ्रष्टाचारजन्य गतिविधिमा संलग्न नभएको दाबी गर्नुभयो । पुराना दलमा रहँदा गलत र राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेपछि असल मान्ने प्रवृत्तिमाथि प्रश्न उठाउँदै उहाँले व्यक्तिको मूल्याङ्कन पार्टी परिवर्तनका आधारमा मात्र गर्न नहुने धारणा राख्नुभयो ।

रास्वपाका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उदाहरण दिँदै पाण्डेले नेपाली कांग्रेसमा रहँदा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका बेला खराब मान्ने र रास्वपामा पुगेपछि असल ठान्ने दृष्टिकोणमाथि प्रश्न गर्नुभयो छ ।विगत ३५ वर्षमा मुलुकमा कुनै उपलब्धि नभएको भन्ने भाष्य पनि तथ्यसंगत नभएको पाण्डेको भनाइ छ ।

सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी र विद्युत्जस्ता आधारभूत क्षेत्रमा भएका विकासलाई बिर्सन नहुने उल्लेख गर्दै उहाँले पुराना राजनीतिक दल र तिनका सबै नेता तथा कार्यकर्तालाई एउटै रूपमा दोषी ठहर गर्नु उचित नहुने धारणा व्यक्त गर्नुभयो छ ।