दसैँ, तिहार र छठजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा काठमाडौं उपत्यकावासी मेलम्चीको खानेपानीको प्रतीक्षामा छन् । वर्षायाममा बाढीपहिरोको जोखिमका कारण बन्द गरिएको मेलम्चीको पानी पुनः वितरण नहुँदा उपत्यकाका बासिन्दा महँगो मूल्यमा जार र ट्याङ्करको पानी किन्न बाध्य भएका छन् ।
काठमाडौं उपत्यकामा खानेपानीको माग उच्च रहे पनि नियमित आपूर्ति कमजोर हुँदा सर्वसाधारणको दैनिक जीवन प्रभावित भएको छ । धारामा पर्याप्त पानी नआउँदा घरायसी कामदेखि चाडपर्वको सरसफाइसम्म कठिन बनेको छ ।
मेलम्ची खानेपानी विकास समितिका अनुसार लगातारको वर्षा, खोलामा पानीको बहाव नघट्नु र मुहानसम्म पुग्ने सडकमा बाढीले क्षति पु¥याउँदा पानी पुनः सञ्चालन गर्न ढिलाइ भएको हो । सडक मर्मत र खोलाको बहाव घटेपछि मात्रै सुरुङमा पानी पठाउने प्रक्रिया अघि बढ्ने जनाइएको छ ।
लामो समयदेखि मेलम्चीको पानीको प्रतीक्षामा रहेका उपत्यकावासीलाई अब आश्वासनभन्दा नियमित खानेपानी आपूर्ति आवश्यक रहेको छ । चाडपर्वको समयमा बढ्ने पानीको मागलाई ध्यानमा राख्दै सम्बन्धित निकायले वितरण छिटो सञ्चालन गर्नुपर्ने देखिन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया