सुनचाँदीको कारोबारमा डिजिटल पहुँच विस्तार गर्दै हिमालयन बुलियन, प्रशोधनदेखि निर्यातसम्मका योजना सार्वजनिक

80 Shares

सुनचाँदीको कारोबारलाई प्रविधिमैत्री, व्यवस्थित र सहज बनाउने लक्ष्यसहित हिमालयन बुलियन कम्पनी लिमिटेडले डिजिटल अनुप्रयोग, चाँदी प्रशोधन, सुरक्षित भण्डारण तथा अन्तर्राष्ट्रिय बजार विस्तारसम्बन्धी आफ्ना सेवा र योजनाहरू प्रस्तुत गरेको छ । कम्पनीले आइतबार काठमाडौंस्थित द प्लाजा होटलमा ‘रिडिफाइनिङ एक्सेस’ अर्थात् पहुँचको नयाँ अवधारणासम्बन्धी कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठको उपस्थिति रहेको थियो ।

‘एचबीसी’ अनुप्रयोगबाट सुन तथा चाँदीका छड र सिक्का खरिद गर्न, कम्पनीले सार्वजनिक गरेको मूल्य हेर्न, खरिद गरिएका वस्तुको विवरण राख्न तथा पुनः बिक्रीका लागि अनुरोध गर्न सकिन्छ । त्यस्तै, ‘एचबीसी सिल्भर’ अनुप्रयोगमा चाँदीको कारोबार, भण्डारण र वितरणसम्बन्धी विवरण हेर्न सकिने सुविधा उल्लेख रहेको छ । मोबाइल अनुप्रयोगमार्फत कारोबारसम्बन्धी जानकारी प्राप्त गर्न र खरिद गरिएका वस्तुको विवरण व्यवस्थापन गर्न सकिने व्यवस्था कम्पनीको डिजिटल सेवाको प्रमुख पक्ष हो । कम्पनीको प्रस्तुतिमा बूढानीलकण्ठस्थित प्रशोधन केन्द्रमा चाँदी प्रशोधन गरी ९९.९९ प्रतिशत शुद्धताको एक हजार ग्राम तौलको चाँदीको छड उत्पादन गर्ने विवरण समेटिएको छ । औद्योगिक प्रयोजनका लागि प्रमाणित शुद्धताका चाँदीका दाना तथा विभिन्न तौलका सिक्का उपलब्ध गराउने र व्यक्तिगत, खुद्रा तथा संस्थागत प्रयोजनका लागि सुन, चाँदी र हिराका गहना तयार गर्ने सेवा पनि प्रस्तुत गरिएको छ ।

कम्पनीले सुरक्षित तथा बीमासहितको भण्डारण, भण्डारणमा रहेका वस्तुको पारदर्शी विवरण र प्रचलित बजार मूल्यमा पुनः खरिदको प्रत्याभूतिसम्बन्धी व्यवस्था उल्लेख गरेको छ ।

नेपालका व्यापारीलाई चाँदीका छड थोकमा आपूर्ति गर्ने तथा दक्षिण एसिया र संयुक्त अरब इमिरेट्सका बजारमा निर्यात विस्तार गर्ने योजना पनि प्रस्तुतिमा समावेश रहेको छ । सुनचाँदीको कारोबारमा डिजिटल माध्यमको प्रयोग बढ्दै जाँदा उत्पादनको शुद्धता, मूल्य निर्धारण, सुरक्षित भण्डारण र खरिदबिक्रीमा पारदर्शिता महत्त्वपूर्ण पक्षका रूपमा रहेका छन् ।