कांग्रेस संस्थापन इतर पक्षको महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म

20 Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीको १५औँ महाधिवेशन मंसिर २१, २२ र २३ गते गर्ने भएको छ ।

शनिबार पार्टी सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका नेता डा. प्रकाशशरण महतले मंसिर २१, २२ र २३ गते महाधिवेशन गर्ने तयारी गरिएको जानकारी दिएका हुन् ।

उनका अनुसार महाधिवेशनको तयारीका लागि असोज १५ गतेदेखि वडा अधिवेशन सुरु हुनेछ । एकताको महाधिवेशनका लागि प्रयास गरे पनि सम्भव नभएपछि छोटो समयमै महाधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था आएको उनले बताए ।

पछिल्ला दिनमा भएको व्यापक वर्षाका कारण केही काममा ढिलाइ भए पनि केन्द्रीय कार्यालयबाट गर्नुपर्ने तयारी अघि बढिरहेको महतले जानकारी दिए । सम्भव भएसम्म स्थानीय वकिल, पूर्वशिक्षक तथा निर्वाचन सम्पन्न गर्ने अनुभव भएका व्यक्तिहरूको सहयोग लिएर अधिवेशन छिटोछरितो रूपमा सम्पन्न गरिने उनले बताए ।

महतले नवीकरण भएका तथा नयाँ प्राप्त क्रियाशील सदस्यहरूको सूची अनलाइनमार्फत जिल्ला हुँदै वडासम्म पठाइने जानकारी दिए । छुटेका व्यक्तिहरूले आवश्यक प्रक्रिया पूरा गरी असोज १५ गतेभित्र क्रियाशील सदस्यता प्राप्त गर्ने व्यवस्था गरिने पनि उनले बताए ।

महतले भने, ‘असोज १५ गतेबाट वडा अधिवेशन सुरु हुन्छ । केन्द्रीय महाधिवेशन मंसिर २१, २२ र २३ गते सम्पन्न गर्ने तयारी छ । हामीले एकताको महाधिवेशनका लागि प्रयास गरेका थियौँ । त्यसका लागि सबै ढोका खुला राखेर प्रयास गर्दा पनि सम्भव नभएपछि छोटो समयमै अधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था आएको छ । त्यसैले अहिले आपत्कालीन मोडमा तयारी अघि बढाइएको छ ।’

पछिल्ला दिनमा भएको व्यापक वर्षाका कारण केही काममा ढिलाइ भए पनि केन्द्रीय कार्यालयबाट गर्नुपर्ने तयारी अघि बढिरहेको उनले बताए । पार्टीका कार्यकर्तामा सक्रिय सदस्यता, निर्वाचन अधिकृत तथा अधिवेशनसम्बन्धी स्वाभाविक जिज्ञासा रहेको भन्दै महतले निर्वाचन समितिमार्फत निर्वाचन अधिकृतहरू एक–दुई दिनमै जिल्लामा पुग्ने जानकारी दिए ।

‘सम्भव भएसम्म स्थानीय वकिल, पूर्वशिक्षक तथा निर्वाचन सम्पन्न गर्ने अनुभव भएका व्यक्तिहरूको सहयोग लिएर अधिवेशन छिटोछरितो रूपमा सम्पन्न गरिनेछ । नवीकरण भएका तथा नयाँ प्राप्त क्रियाशील सदस्यहरूको सूची अनलाइनमार्फत जिल्ला हुँदै वडासम्म पठाइनेछ । छुटेका व्यक्तिहरूले पनि आवश्यक प्रक्रिया पूरा गरी असोज १५ गतेभित्र क्रियाशील सदस्यता प्राप्त गर्ने व्यवस्था गरिनेछ,’ उनले भने ।

वर्षाका कारण कुनै वडामा असोज १५ गते अधिवेशन सम्पन्न हुन नसकेमा सम्बन्धित निर्वाचन अधिकृतले जिल्ला संयोजन समिति र जिल्ला समितिसँगको सल्लाहमा आवश्यक निर्णय गर्ने महतले बताए । त्यस्ता वडामा स्थानीय परिस्थितिअनुसार असोज १६ वा १७ गतेसम्म अधिवेशन सम्पन्न गर्न सकिने उनले जानकारी दिए ।