जाजरकोटका प्रवासी युवाको सामूहिक पहलमा गाउँलाई स्ट्रेचर उपहार

19 Shares

काठमाडाैं । रोजगारीका सिलसिलामा विभिन्न देशमा रहेका जाजरकोटको छेडागाड नगरपालिका–२ मजेरीका युवाहरूले आफ्नो व्यक्तिगत कमाइबाट रकम संकलन गरी गाउँका लागि बिरामी बोक्ने स्ट्रेचर खरिद गरेका छन् ।

सोही ठाउँका युवा तिलक खड्काको पहलमा सहयोग रकम संकलन गरिएको थियो । प्रवासमा रहेका युवाहरूले गाउँमा बिरामी परेका बेला अस्पताल पुर्‍याउने साधनको अभावले हुने पीडा महसुस गरेपछि आफ्नो कमाइबाट केही रकम छुट्याई स्ट्रेचर खरिद गर्ने निर्णय गरेका थिए ।

यसका लागि विभिन्न मुलुकमा रहेका दर्जनौं युवा आर्थिक सहयोगमा जोडिएका थिए । खरिद गरिएको स्ट्रेचर स्वास्थ्य चौकी साल्मा र वडा कार्यालयसँगको समन्वयमा हस्तान्तरण गरिएको छ ।

हस्तान्तरण कार्यक्रममा नगर कार्यपालिका सदस्य सम्झना बि.कको रोहवरमा स्ट्रेचर हस्तान्तरण गरिएको थियो । स्ट्रेचर हस्तान्तरणपछि युवाहरुको यो कार्यलाई प्रशंसा गरिएको छ । प्रवासमा रहेका युवाहरुले भविष्यमा पनि गाउँका सुख–दुःखमा यसैगरी सहभागी हुने प्रतिबद्धता जनाएका छन् ।