लालबकैया पुलबाट खोलामा हामफालेका युवा बेपत्ता, खोजी जारी

18 Shares

रौतहट । बाराको सिम्रौनगढ नगरपालिका–११ कटहरिया टोलका २७ वर्षीय सचिन्द्र यादव लालबकैया पुलबाट खोलामा हामफालेर बेपत्ता भएका छन् ।

मानसिक स्वास्थ्यसम्बन्धी समस्याबाट पीडित यादव उपचारका लागि गरुडातर्फ जाँदै गर्दा मौलापुर नगरपालिका–४ स्थित लालबकैया पुलबाट दिउँसो करिब १ बजे खोलामा हामफालेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार मोटरसाइकलबाट ओर्लिएर यादव पुलबाट खोलामा हामफालेका थिए ।

घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीले खोज तथा उद्धार सुरु गरेका छन् ।

गोताखोरसहित सशस्त्र प्रहरी बलको टोलीसमेत खोजीमा परिचालन गरिएको छ । तर लालबकैया खोलामा पानीको बहाव बढेकाले खोज तथा उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

घटनास्थल इलाका प्रहरी कार्यालय मौलापुरबाट करिब तीन किलोमिटर पूर्वमा रहेको छ ।