माइतीघरमा रुखको हाँगा भाँचिएर सडक अवरुद्ध, दुई सवारीसाधनमा क्षति

18 Shares

काठमाडौं । काठमाडौंको माइतीघर मण्डला नजिक अन्नपूर्ण अस्पताल अगाडि सडकखण्डमा वर्षा, हावाहुरीका कारण रुखको हाँगा भाँचिएर सडक अवरुद्ध भएको छ।

वर्षासँगै आएको हावा र हुरीका कारण सडक किनारमा रहेको रुखको ठूलो हाँगा भाँचिएर सडकमा खसेपछि केही समय सवारी आवागमन प्रभावित भएको थियो। हाँगा सडकमा खसेपछि उक्त सडकखण्डमा आवतजावत गर्ने सवारीसाधनलाई समेत समस्या भएको थियो।

घटना जानकारी पाएलगत्तै प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो। प्रहरीले सडकमा खसेको रुखको हाँगा हटाएर अवरुद्ध सडक खुलाएको हो। हाँगा हटाएपछि उक्त सडकखण्डमा सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

रुखको हाँगा भाँचिँदा गुडिरहेको प्रहरी वृत्त बालाजुको बा.प्र.०१–ग ४८४६ नम्बरको प्रिजनर क्यारियरमा क्षति पुगेको छ। त्यस्तै, बा.प्र.०१–००३४ च ५७९० नम्बरको अर्को सवारीसाधनमा समेत क्षति पुगेको जनाइएको छ।

घटनामा सवारीसाधनमा भौतिक क्षति भए पनि मानवीय क्षति भने नभएको बताइएको छ। तत्काल प्रहरी परिचालन गरी सडकमा खसेको हाँगा हटाइएकाले लामो समयसम्म यातायात अवरुद्ध हुन नपाएको जनाइएको छ।

काठमाडौं उपत्यकामा पछिल्लो समय वर्षासँगै तीव्र हावा तथा हावाहुरी चल्दा सडक किनारका रुख तथा रुखका हाँगा भाँचिने जोखिम बढेको छ। यस्तो अवस्थामा सडकमा यात्रा गर्ने सवारीचालक तथा पैदलयात्रीलाई विशेष सावधानी अपनाउन आवश्यक देखिएको छ।

प्रहरीले पनि वर्षा र हावाहुरीका समयमा रुख तथा विद्युत् पोल आसपास सवारीसाधन नरोक्न तथा जोखिमयुक्त स्थानमा सावधानीपूर्वक आवतजावत गर्न आग्रह गरेको छ।