काठमाडौं — काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति तथा शिक्षाविद् प्रा. डा. सुरेशराज शर्माको बिहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।
शर्माको अन्तिम बिदाइका क्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए। नेपाल प्रहरीको एक टुकडीले उनको सम्मानमा अन्तिम सलामीसमेत दिएको थियो।
शिक्षा तथा खेलकुद मन्त्रालयको अनुरोधपछि गृह मन्त्रालयले राजकीय सम्मान दिने निर्णय गरेको थियो। आर्यघाटमा शिक्षामन्त्री पोखरेलसहित मन्त्रालयका प्रमुख सल्लाहकार शैलेन्द्र झा तथा अन्य पदाधिकारी उपस्थित भएर शर्माप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।
शर्माको निधनप्रति दुःख व्यक्त गर्दै मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा उनको योगदान महत्वपूर्ण रहेको बताए। उनले काठमाडौं विश्वविद्यालयलाई अझ स्वायत्त र संस्थागत रूपमा बलियो बनाउने शर्माको अवधारणालाई अघि बढाउने प्रतिबद्धता जनाए।
मन्त्री पोखरेलका अनुसार काठमाडौं विश्वविद्यालयलाई बोर्ड अफ ट्रस्टी मोडलमा लैजाने गरी ऐन संशोधनको मस्यौदा तयार भइसकेको छ। शर्माले देखाएको बाटोअनुसार विश्वविद्यालयको स्वायत्तता र शैक्षिक विकासलाई थप मजबुत बनाउने सरकारको तयारी रहेको उनको भनाइ छ।
सिन्धुलीमा जन्मिएका शर्माले बेलायतबाट रसायनशास्त्रमा पीएचडी गरेका थिए। त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेका उनी पछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का संस्थापक निर्देशक बनेका थिए।
प्राविधिक शिक्षा विस्तारमा समेत उनको महत्वपूर्ण भूमिका रहेको थियो। जुम्ला, जिरी, सिन्धुली र धनकुटालगायतका क्षेत्रमा प्राविधिक शिक्षाको विकास तथा विस्तारमा उनले योगदान पुर्याएका थिए।
काठमाडौं विश्वविद्यालयको नेतृत्वमा लामो समय रहेर उनले विश्वविद्यालयको संस्थागत विकास, स्वायत्तता र अन्तर्राष्ट्रिय पहिचान विस्तारमा काम गरेका थिए।
शर्माको बुधबार निधन भएको थियो। उनको निधनलाई नेपालको उच्च तथा प्राविधिक शिक्षा क्षेत्रका लागि महत्वपूर्ण क्षतिका रूपमा लिइएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया