पोखरा । अघिपछि सुनसानजस्तै देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान तथा आगमन कक्षमा बुधबार दिउँसोदेखि नै चहलपहल बढेको थियो। आफन्तलाई स्वागत गर्न आउनेदेखि विदेश यात्रामा निस्किएका परिवारजनलाई बिदाइ गर्न विमानस्थल पुगेकाहरूको भीडले विमानस्थल परिसरमा उत्साह थपेको थियो।
फ्लाई दुबईले दुबई–पोखरा–दुबई नियमित व्यावसायिक उडान सुरु गरेसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक नियमित अन्तर्राष्ट्रिय उडानको वातावरण बनेको हो। पहिलो उडानबाट दुबई हुँदै पोखरा आएका यात्रुको स्वागत तथा पोखराबाट दुबई जाने यात्रुको बिदाइका लागि आफन्त, स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी, पर्यटन व्यवसायी तथा सर्वसाधारण विमानस्थल पुगेका थिए।
कोही लामो समयपछि घर फर्कन पाउँदाको खुसी साटिरहेका थिए भने कोही परिवार तथा आफन्तसँग छुट्टिएर विदेश जानुपर्दाको क्षणमा भावुक देखिन्थे। फ्लाई दुबईको जहाज हेर्नकै लागि समेत कतिपय सर्वसाधारण विमानस्थल परिसरमा पुगेका थिए।
यसअघि केही वायुसेवा कम्पनीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय चार्टर उडान गरे पनि नियमित व्यावसायिक उडान सञ्चालन हुन सकेको थिएन। फ्लाई दुबईले दैनिक उडान तालिकासहित सेवा सुरु गरेपछि भने पोखरेलीमा उत्साह बढेको छ।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरी अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्ने सपना पोखरेलीले दशकौँदेखि देख्दै आएका थिए। विमानस्थल निर्माणका लागि लामो समयसम्म स्थानीयस्तरमा विभिन्न आन्दोलन तथा दबाबका कार्यक्रमसमेत भएका थिए।
पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पोखरेलीले गरेको लामो सङ्घर्ष स्मरण गर्दै नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुनु गौरवको विषय भएको बताए।
उनका अनुसार विमानस्थल निर्माणका लागि पोखरेलीले लामो समयदेखि आवाज उठाउँदै आएका थिए। अहिले पोखराबाट दुबईसम्म नियमित उडान सुरु हुनु सोही प्रयासको महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ।
श्रेष्ठले अब उडानलाई दिगो र प्रभावकारी बनाउन सबै पक्षले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताए।
दुबईबाट पहिलो उडानमा पोखरा आएका पोखरा महानगरपालिका–३२ का कृष्णबहादुर खड्काले विदेशबाट सिधै आफ्नो गृहसहर आउन पाउँदा खुसी लागेको बताए।
जहाजबाटै आफ्नो गाउँ तथा रूपाताल हेर्दै पोखरा ओर्लिएको अनुभव विशेष रहेको उनले बताए।
उनले विदेशबाट नेपाल आउँदा काठमाडौं हुँदै लामो यात्रा गर्नुपर्ने अवस्थाको अन्त्य हुँदै अब सिधै पोखरा आएर घर पुग्न सकिने भएकाले पोखरेलीका लागि यो ठूलो खुसीको विषय भएको बताए।
नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पोखरा अब दुबईसँग मात्र नभई दुबईलाई ट्रान्जिट बनाएर विश्वका विभिन्न अन्तर्राष्ट्रिय सहरसँग जोडिने बताए।
उनका अनुसार दुबई विश्वको महत्वपूर्ण हवाई ट्रान्जिट हब भएकाले पोखरा–दुबई उडानले युरोप, अमेरिका, अष्ट्रेलियालगायत विभिन्न मुलुकबाट पोखरा आउने यात्रु तथा पर्यटकलाई सहजता प्रदान गर्न सक्छ।
यसबाट पर्यटनसँगै स्थानीय व्यापार, होटल, रेष्टुराँ, यातायात तथा अन्य सेवा क्षेत्रमा समेत आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ।
पर्यटक तथा यात्रुलाई आकर्षित गर्न नेपाल पर्यटन बोर्डले दुबईलगायत अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत गरिरहेको जनाइएको छ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा–दुबई सिधा उडानलाई पोखरेलीका लागि खुसी र गौरवको विषयका रूपमा वर्णन गरे।
उनका अनुसार यो उडानले पोखराको पर्यटन, व्यवसाय, रोजगारी र समग्र आर्थिक गतिविधिमा नयाँ अवसर सिर्जना गर्न सक्छ। पोखराबाट अन्तर्राष्ट्रिय आकाशतर्फको नयाँ यात्राको सुरुआत भएको उनको भनाइ छ।
दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब साढे चार घण्टाको उडानपछि फ्लाई दुबईको बोइङ ७३७ म्याक्स ८ जहाज बुधबार साँझ ६ः१९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।
पहिलो उडानमा जहाजले ११३ जना यात्रु लिएर पोखरा आएको थियो। विमानस्थलमा जहाजलाई पानीको फोहराले स्वागत गरिएको थियो।
पोखराबाट भने साँझ ७ः५५ बजे १५२ जना यात्रु लिएर जहाज दुबई फर्किएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए।
पहिलो उडानमा आएका यात्रुलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक डा. मुकेश डङ्गोल, विमानस्थलका पदाधिकारी तथा कर्मचारी, पर्यटन व्यवसायीलगायतले स्वागत गरेका थिए।
त्यसैगरी पोखराबाट दुबई जाने यात्रुलाई समेत बिदाइ गरिएको थियो।
फ्लाई दुबईको नियमित उडान सुरु भएपछि पोखराका पर्यटन व्यवसायीले यात्रु तथा पर्यटकलाई लक्षित गर्दै विभिन्न छुट तथा स्वागत कार्यक्रम ल्याएका छन्।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष सङ्गीता पौडेलका अनुसार नेपाल पर्यटन बोर्डको सहयोगमा पहिलो उडानबाट आएका यात्रुलाई विशेष उपहार प्रदान गरिएको थियो।
नाट्टामा आबद्ध व्यवसायी, होटल तथा रेष्टुराँ व्यवसायीले समेत आफ्ना व्यवसायका प्रवद्र्धनात्मक सामग्रीसहित यात्रुलाई स्वागत गरेका थिए। फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई लक्षित विभिन्न छुट योजनाबारे पनि जानकारी गराइएको थियो।
होटल सङ्घ पोखराले पनि फ्लाई दुबईबाट आउने यात्रु तथा पर्यटकलाई लक्षित गरी छुट योजना ल्याएको छ।
होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार पहिलो तीन महिनाका लागि पोखराका विभिन्न होटलमा २५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ। प्रारम्भिक चरणमा करिब ५० वटा होटल छुट योजनामा सहभागी भएका छन् र थप होटललाई समेत समेट्दै जाने तयारी रहेको जनाइएको छ।
पहिलो उडानबाट दुबई हुँदै पोखरा आएका यात्रुका लागि एक रातको बास तथा भोलिपल्ट बिहानको खाजा निःशुल्क गरिएको थियो।
त्यसैगरी रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराले पनि संस्थामा आबद्ध रेष्टुराँमा फ्लाई दुबईबाट आउने यात्रुलाई १५ देखि २० प्रतिशतसम्म छुट दिने जनाएको छ।
अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलतर्फ आकर्षित गर्ने उद्देश्यले सरकारले विमानस्थलका विभिन्न शुल्कमा छुट दिने निर्णय गरेको छ।
सरकारले वि.सं. २०८५ भदौ मसान्तसम्म पार्किङ, ल्यान्डिङ तथा नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिने व्यवस्था गरेको छ। त्यस्तै ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ।
यस्ता छुट तथा सहुलियतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान विस्तार गर्न वायुसेवा कम्पनीलाई प्रोत्साहन पुग्ने अपेक्षा गरिएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ जनवरीदेखि सञ्चालनमा आएको हो। विमानस्थल सञ्चालनमा आएको लामो समयसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा यसको पूर्ण क्षमतामा उपयोगका विषयमा प्रश्न उठ्दै आएको थियो।
यसबीच विभिन्न वायुसेवा कम्पनीले पोखराबाट अन्तर्राष्ट्रिय चार्टर उडान गरे पनि नियमित व्यावसायिक सेवा सञ्चालन हुन सकेको थिएन।
सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने उल्लेख गरेको थियो। त्यसपछि फ्लाई दुबईले पोखराबाट नियमित व्यावसायिक उडान सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको हो।
दुबई–पोखरा–दुबई उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठ २५ गते फ्लाई दुबईलाई अनुमति दिएको थियो।
फ्लाई दुबईले पोखराबाट दैनिक उडान सञ्चालन गर्ने तालिका बनाएको छ। तालिकाअनुसार फ्लाई दुबईको जहाज हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण गर्ने र ७ः१५ बजे पोखराबाट दुबईका लागि प्रस्थान गर्ने व्यवस्था गरिएको छ।
दुबईसँगको सिधा हवाई सम्पर्कले पोखरालाई विश्वको प्रमुख हवाई ट्रान्जिट हबसँग जोडेको छ।
फ्लाई दुबईले विश्वका १२० भन्दा बढी गन्तव्यमा उडान गर्दै आएको बताइएको छ। दुबईलाई ट्रान्जिट बनाएर पोखराबाट विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा पुग्न सकिने भएकाले यात्राका लागि नयाँ विकल्प सिर्जना भएको छ।
फ्लाई दुबई र इमिरेट्स एयरलाइन्सबीच रहेको रणनीतिक ‘कोडसेयर’ साझेदारीका कारण पोखराबाट दुबई हुँदै विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा यात्रा गर्ने यात्रुलाई थप सहजता पुग्ने अपेक्षा गरिएको छ।
पोखराबाट अष्ट्रेलिया, युरोप तथा अमेरिकाका विभिन्न सहरमा जाने यात्रुले एउटै टिकटमार्फत यात्रा गर्न सक्ने र दुबईमा ट्रान्जिट हुँदै गन्तव्यसम्म पुग्न सहज हुने बताइएको छ।
यसले विदेशमा अध्ययन, रोजगारी तथा भ्रमणका लागि जाने पोखरा र गण्डकी क्षेत्रका यात्रुलाई समेत लाभ पुग्ने अपेक्षा गरिएको छ।
फ्लाई दुबईले पोखरा–दुबई नियमित उडान सुरु गरेको अवसरमा पोखरामा आयोजना गर्ने भनिएको औपचारिक स्वागत समारोह भने संयुक्त अरब इमिरेट्स (युएई) का राजपरिवारका सदस्य शेख अहमद बिन राशिद अल मक्तुमको निधन भएका कारण रद्द गरिएको थियो।
यद्यपि पहिलो उडानबाट आएका यात्रुलाई विमानस्थलमै स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी तथा पर्यटन व्यवसायीले स्वागत गरेका थिए।
पोखरा नेपालको प्रमुख पर्यटकीय गन्तव्य हो। पोखरा–दुबई नियमित हवाई सम्पर्क सुरु भएपछि विदेशी पर्यटकलाई काठमाडौं हुँदै स्थलमार्गबाट पोखरा पुग्नुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।
दुबई हुँदै विश्वका विभिन्न मुलुकबाट पर्यटक सिधै पोखरा आउन सक्ने भएकाले पोखरा मात्र नभई अन्नपूर्ण क्षेत्र, धम्पुस, घान्द्रुक, मुस्ताङ, मनाङलगायत गण्डकी प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यमा समेत पर्यटक आवागमन बढ्न सक्ने पर्यटन व्यवसायीको अपेक्षा छ।
त्यसैगरी वैदेशिक रोजगारी, अध्ययन तथा व्यापारिक प्रयोजनका लागि खाडी मुलुक तथा अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा जाने यात्रुलाई समेत यो उडान उपयोगी हुने देखिएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको लामो समयपछि सुरु भएको यो नियमित अन्तर्राष्ट्रिय उडानलाई विमानस्थलको व्यावसायिक उपयोग विस्तारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। अब नियमित उडानलाई निरन्तरता दिनुका साथै अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा समेत हवाई सम्पर्क विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ।
पोखरा–दुबई नियमित उडानले पोखरालाई विश्वव्यापी हवाई सञ्जालसँग जोड्नुका साथै पर्यटन, व्यापार, रोजगारी र यात्रु आवागमनका क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोलेको छ। पाँच दशकअघिदेखि देखिएको पोखरेलीको अन्तर्राष्ट्रिय विमानस्थलको सपना नियमित व्यावसायिक उडानसँगै व्यवहारमा अघि बढेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया