डोल्पामा सीता एयरको एउटा पांग्राे खुस्कियो, सबै यात्रु सकुशल

71 Shares

डोल्पा । डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा सीता एयरको जहाजको पछाडितर्फको दायाँ पाङ्ग्रा खुस्किएको छ।

नेपालगञ्जबाट जुफालका लागि उडेको 9N-AJH कलसाइनको सीता एयरको जहाज बिहीबार बिहान करिब ८ः२५ बजे अवतरण गर्ने क्रममा पाङ्ग्रा खुस्किएको हो।

जहाजमा १३ जना यात्रु र तीन जना चालक दलका सदस्य गरी १६ जना सवार रहेको बताइएको छ। यात्रुमध्ये ७ जना विदेशी नागरिक थिए। घटनामा कुनै मानवीय क्षति भएको छैन र सबै यात्रु तथा चालक दलका सदस्य सुरक्षित रहेको प्रहरीले जनाएको छ।

पाङ्ग्रा खुस्किएपछि जहाज धावनमार्गमै रोकिएको छ। जहाजमा ठूलो संरचनात्मक क्षति नदेखिएको बताइएको छ। प्राविधिक टोलीले जहाजको निरीक्षण गरिरहेको छ भने आवश्यक मर्मतका लागि इन्जिनियरलाई हेलिकोप्टरमार्फत ल्याउने तयारी भइरहेको छ।

जहाज धावनमार्गमै रहेका कारण जुफाल विमानस्थलको उडान सेवा प्रभावित भएको छ। विमानस्थलतर्फ आउँदै गरेको नेपाली सेनाको विमानसमेत फर्किनुपरेको अधिकारीहरूले बताएका छन्।

विमान: सीता एयर
कलसाइन: 9N-AJH
रुट: नेपालगञ्ज–जुफाल, डोल्पा
घटना: अवतरणका क्रममा पछाडिको दायाँ पाङ्ग्रा खुस्कियो
समय: बिहान ८ः२५ बजे
यात्रु: १३ जना
चालक दल: ३ जना
मानवीय क्षति: छैन।