भारी वर्षाको सम्भावना: विद्यालय आवश्यकता अनुसार बिदा गर्न शिक्षा मन्त्रालयको आग्रह

16 Shares

काठमाडौँ । देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङको सम्भावना रहेकाले शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक संस्था तथा सरोकारवालालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

मन्त्रालयले बुधवार सार्वजनिक सूचना जारी गर्दै असोज ९, १० र ११ गते विभिन्न स्थानमा भारी वर्षा हुनसक्ने तथा त्यसबाट बाढी, पहिरो, डुबान, नदी कटान, हिमपहिरो, सडक अवरोध तथा विद्युत् र सञ्चार सेवामा अवरोध हुनसक्ने पूर्वानुमान रहेको जनाएको छ।

मन्त्रालयका अनुसार जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित क्षेत्रका विज्ञबाट प्राप्त पूर्वानुमानका आधारमा सावधानी अपनाउन अनुरोध गरिएको हो।

 

मन्त्रालयले सबै विद्यालय, विश्वविद्यालय, शिक्षालय, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय तहलाई मौसमको अवस्था हेरी आवश्यक सुरक्षा उपाय अपनाउन आग्रह गरेको छ।

सूचनामा असोज ५ र ६ गते विद्यार्थी, बालबालिका, शिक्षक तथा कर्मचारी सुरक्षित रहने गरी स्थानीय तहसँगको समन्वयमा आवश्यकताअनुसार विद्यालय बिदा गर्न आग्रह गरिएको छ।

त्यस्तै, विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायलाई असोज ९ गतेदेखि ११ गतेसम्म तोकिएका परीक्षा आवश्यकताअनुसार स्थगित गर्न भनिएको छ।

मन्त्रालयले सुरक्षित विद्यालय भवनलाई आवश्यक परेको अवस्थामा अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न स्थानीय तहलाई सहजीकरण गर्न समेत आग्रह गरेको छ।