काठमाडाैं । प्रधानमन्त्री बालेन शाहले आगामी शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएकाे छ ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा अति भारी वर्षा हुनसक्ने तथा कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिमका विभिन्न क्षेत्रमा पनि भारी वर्षाको सम्भावना रहेको जानकारी दिनुभएकाे छ ।
उहाँले सम्भावित वर्षाका कारण बाढी, पहिरो, डुबान, गेग्रान बहाव तथा सडक र हवाई यातायातमा अवरोध आउन सक्ने भन्दै नदी तथा खोलानजिक र पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गर्नुभयाे ।
यस्तै, पानी परिरहेको र रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न, मौसम सुधार नभएसम्म ट्रेकिङ तथा हिमाली क्षेत्रको यात्रा स्थगित वा पुनर्विचार गर्न पनि उनले अनुरोध गर्नुभएकाे छ । साथै, मौसम विज्ञान विभाग र स्थानीय प्रशासनबाट जारी हुने सूचनालाई नियमित रूपमा हेर्न तथा आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न आग्रह गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया