नेपालमा तीन दिन भारी वर्षा र हिमपातको उच्च जोखिम, सचेत रहनुपर्ने

59 Shares

काठमाडौं । मौसम विज्ञान विभागका मौसमविद् डेविड ढकालले बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणाली शक्तिशाली बन्दै गएकाले त्यसको प्रभाव नेपालमा समेत पर्ने बताएका छन् ।

बुधवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै ढकालले उक्त प्रणाली बिहीवार बिहानसम्म भारतको उत्तर प्रदेश, आन्ध्र प्रदेश तथा दक्षिण ओडिसाको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्ने सम्भावना रहेको बताए ।

बंगालको खाडीमा विकसित मौसमी प्रणालीको प्रभावले नेपालमा जलवाष्पयुक्त हावा भित्रिने भएकाले यही शुक्रवारदेखि आगामी आइतवारसम्म भारी वर्षाको सम्भावना रहेको उनले बताए ।

मनसुनी गतिविधि समेत कायमै रहेकाले वर्षाले जनजीवन प्रभावित हुनसक्ने भन्दै सबै सचेत रहनुपर्ने उनले बताए ।

‘बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणाली अहिले गहिरो न्यूनचापीय प्रणालीमा प्रवेश गरेको छ । यसले आज बेलुका वा भोलि बिहानसम्ममा भारतको उत्तर प्रदेश, आन्ध्र प्रदेश र दक्षिण ओडिसाको तटतिरबाट जमिनको सतहमा प्रवेश गर्ने देखिएको छ । यसले नेपालमा पनि वर्षा गराउने जस्तो देखिएको छ’ उनले भने ।

बुधवार लुम्बिनी प्रदेशबाट पूर्वतिरका भू–भागमा बढी स्थानमा वर्षाको सम्भावना रहेको उनले बताए । मध्यम वर्षाको सम्भावना रहे पनि एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने उनले बताए ।

बिहीवार कोशी, वागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा ठूलो वर्षाको सम्भावना रहेको उनले बताए ।

‘भोलिको लागि कोशी प्रदेश आसपास, वागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भाग आसपासमा अलि बढी स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ । यद्यपि भोलिको तुलनामा ८ गते र ८ गतेको तुलनामा ९ गते अलि भारी वर्षा हुने देखिएको छ’ उनले भने ।

बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीको प्रभावले जलवाष्पयुक्त हावा नेपालतर्फ भित्रिएकाले वर्षाको सम्भावना बढेको उनले बताए ।

‘बंगालको खाडीमा विकसित भएको गहिरो न्यूनचापीय प्रणालीको प्रभावले गर्दा जलवाष्पयुक्त हावाहरू बंगालको खाडी हुँदै नेपालतिर भित्रिएको देखिन्छ । जसले गर्दा केही प्रभाव परेको हो । यो प्रणालीले लुम्बिनी प्रदेश र गण्डकी प्रदेश आसपासमा अलिकति बढी प्रभाव पार्ने जस्तो देखिएको छ’ उनले भने ।

यही अवधिमा उच्च हिमाली क्षेत्रमा समेत भारी हिमपातको सम्भावना रहेको उनले बताए । अहिले पर्वतारोहणको याम रहेकाले हिमपातले पर्वतारोहणलगायतका गतिविधिमा असर पर्नसक्ने भन्दै सरोकारवाला पक्षलाई सचेत रहन उनले आग्रह गरे ।

‘यही प्रणालीको कारणले उच्च पहाडी तथा हिमाली भू–भागहरूमा बढी प्रभाव पार्ने नै सम्भावना देखिन्छ । यतिबेला पर्वतारोहण याम भएको कारण भारी हिमपातको सम्भावना रहेको कारणले गर्दा बढी प्रभावित हुने देखिन्छ’ उनले भने ।

पछिल्ला केही दिनमा वर्षाको मात्रा घटेकाले एक्कासी भारी वर्षा भए कमजोर भू–भागमा पहिरोको जोखिम बढ्नसक्ने उनले बताए ।

भारी वर्षाका कारण नदी तथा तटीय क्षेत्रमा बाढीको जोखिम समेत बढ्ने भएकाले सावधानी अपनाउन उनले आग्रह गरे ।

‘मनसुनमा लगातार वर्षा भइरहेको भए पनि पछिल्लो केही दिनमा त्यस्तो वर्षा भएको छैन । अब एक्कासी भारी वर्षा भएमा कमजोर भूभाग भएका क्षेत्रमा पहिरो जाने देखिएको छ । त्यसैगरी भारी वर्षाको कारण तल्लो तटीय क्षेत्रका खोलानालाहरू पनि बढ्ने देखिन्छ । यसले असर गर्छ नै’ उनले भने ।

उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले त्यहाँ पनि आवश्यक सतर्कता अपनाउनुपर्ने उनले बताए । धानबाली भित्र्याउने समय भएकाले मौसमको अवस्था हेरेर विज्ञको सल्लाहअनुसार कृषि कार्य अघि बढाउन उनले आग्रह गरे ।

‘यो समयमा धानबाली भित्र्याउने समय पनि भएको कारण विज्ञको सल्लाह लिएर अघि बढ्दा उपयुक्त हुनेजस्तो देखिन्छ । सबैजनाले सावधानी अपनाउनु र सरोकारवाला निकायहरूले पनि सावधानी अपनाउनुपर्ने आवश्यकता छ’ उनले भने ।

जल तथा मौसम विज्ञान विभागले शून्यदेखि १० मिलिमिटरसम्मको वर्षालाई हल्का, १० देखि ५० मिलिमिटरसम्मलाई मध्यम, ५० देखि १०० मिलिमिटरसम्मलाई भारी तथा १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी वर्षाका रूपमा वर्गीकरण गरेको छ ।