काठमाडौं। हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरव परिसरमा परम्परागत विधिअनुसार लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको छ । यससँगै काठमाडौं उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको औपचारिक सुरुवात भएको छ ।
भक्तपुरको चित्तापोलबाट ल्याइएको ३२ हात अग्लो लिङ्गो असोज ३ गते बिहान ८ बजेर ५ मिनेटको शुभसाइतमा भोटाहिटी हुँदै तानेर हनुमानढोका दरबार परिसर पुर्याइएको थियो । बुधबार बिहान ७ बजेर ४७ मिनेटको शुभसाइतमा परम्परागत विधिअनुसार लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको हो। काठमाडौंमा इन्द्रजात्रालाई ‘येंःन्याः’ तथा ‘येंःन्याः पुन्ही’का रूपमा मनाउने गरिन्छ ।
इतिहासअनुसार इन्द्रजात्रामा लिङ्गो ठड्याउने परम्परा राजा जयप्रकाश मल्लको पालादेखि सुरु भएको मानिन्छ । इन्द्रजात्राका क्रममा कुमारी, गणेश र भैरवको रथयात्रासहित विभिन्न देवीदेवताका पूजा–आराधना, सांस्कृतिक झाँकी तथा परम्परागत नाचगान आयोजना गरिन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया