झापामा जेईविरुद्ध खोप अभियान सुरु, पाँच लाखभन्दा बढी नागरिक लक्षित

61 Shares

काठमाडौं । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) विरुद्ध पाँच लाखभन्दा बढी नागरिकलाई खोप दिने अभियान सोमवारदेखि शुरु भएको छ ।

स्वास्थ्य चौकी काँकरभिट्टामा कोशी प्रदेशका स्वास्थ्य राज्यमन्त्री उमाकान्त गौतमले खोप लगाएर अभियानको सुरुवात गरेकी हुन् । उक्त अभियान असोज १५ गतेसम्म झापाका १५ वटै पालिकामा सञ्चालन हुने स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासले बताए । उनले यो खोप पूर्णतया सुरक्षित रहेको भन्दै ३० वर्ष भन्दा माथि उमेरका सबैलाई खोप लगाउन आग्रह गरे ।

उनले भने, ‘जेईको सङ्क्रमण र मृत्युदर बढ्दै गएपछि उच्च सतर्कता अपनाउँदै खोप अभियान सञ्चालन गर्न लागिएको हो । लक्षित समूहका कोही पनि नागरिक खोपबाट नछुटुन् भन्ने उद्देश्यले स्थानीय तह र स्वास्थ्य संस्थासँग समन्वय भएको छ ।’

खोप अभियान मेचीनगर नगरपालिकाबाट शुरु भएको हो । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले तोकिएका उमेर समूह ३० वर्ष भन्दा माथिका सबैले खोप लगाउन आग्रह गरे ।

अभियानका लागि पाँच लाख ७० हजार डोज खोप प्राप्त भइसकेको कार्यालयले जनाएको छ । जिल्लाका १ सय ३१ वडामा ९ सय खोप केन्द्र स्थापना गरी खोप सेवा सञ्चालन भएको उनको भनाइ छ ।

अभियानमा करिब ५ सय स्वास्थ्यकर्मी, ६ सय ११ महिला स्वास्थ्य स्वयंसेविका र तीन हजारभन्दा बढी स्वयंसेवक परिचालित भएका छन् । देशभरमै झापामा जेई सङ्क्रमण उच्च रहेकाले यहाँबाटै खोप अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

झापामा हालसम्म १३ जनामा जेई सङ्क्रमण पुष्टि भएकामा सात जनाको मृत्यु भइसकेको छ । सङ्क्रमितमध्ये ५० वर्षमाथिका छ जना र आठ वर्षीय एक बालक रहेका छन् ।

मृत्यु भएका कसैले पनि जेईविरुद्धको खोप नलगाएको पाइएको प्रमुख दासले बताए । उनले गर्भवती तथा तत्काल खोप लगाउन नमिल्ने अवस्थाका बिरामीबाहेक लक्षित समूहका सबै नागरिकलाई खोप लगाउन आग्रह गरे ।