अतिक्रमण र जलवायु परिवर्तनको चपेटामा सोती खोला, सुक्दै प्राकृतिक पानीका मुहान

61 Shares

सर्लाही । जलवायु परिवर्तनको असर र बढ्दो मानवीय अतिक्रमणका कारण तराई क्षेत्रमा प्राकृतिक पानीका स्रोतहरू क्रमशः सुक्दै जान थालेका छन्। पानीका मुहान, सिमसार क्षेत्र तथा खोलानालामाथि भइरहेको अतिक्रमणले प्राकृतिक जलचक्रमा असर पार्नुका साथै जैविक विविधता संरक्षणमा समेत चुनौती थपेको छ।

प्राकृतिक पानीका स्रोत सुक्दै जान थालेपछि यसको प्रत्यक्ष असर मानव जीवन, कृषि तथा स्थानीय वातावरणमा देखिन थालेको छ। सर्लाहीको सोती खोला यसको पछिल्लो उदाहरण बनेको छ।

१६ बिघाको सिमसार हराएपछि सुक्यो सोती

बागमती नगरपालिका–९ तेजपुरका भुवन निरौलाको घरबाट करिब सय मिटरको दूरीमा एक दशकअघिसम्म फराकिलो सिमसार क्षेत्र थियो। झण्डै १६ बिघा क्षेत्रफलमा फैलिएको सोतीको मुहान अहिले अतिक्रमणका कारण हराउँदै गएको स्थानीयको भनाइ छ।

निरौलाका अनुसार वर्षातमा पानी जम्मा भएर ठूलो पोखरी बन्ने र हिउँदमा समेत त्यही सिमसारबाट जरुवा पानी निस्किएर सोतीमा बग्ने गर्दथ्यो। तर अहिले सिमसार क्षेत्र नै नरहेपछि सोतीमा पानीको बहावसमेत घटेको छ।

उहाँका अनुसार पहिले वर्षभरि पानी बग्ने सोती अहिले हिउँदमा प्रायः सुक्खा देखिन थालेको छ।

खोलाको स्वरूप नै बदलिँदै

सोतीको मुहान क्षेत्रबाट करिब डेढ किलोमिटर बगेपछि खोला बरहथवा नगरपालिका प्रवेश गर्छ। बरहथवा क्षेत्रमा पछिल्लो समय खोलाको दुवैतर्फ माटो, ढुङ्गा र ग्राभेल हालेर क्षेत्र पुर्ने क्रम बढेको स्थानीय बताउँछन्।

यसले खोलाको प्राकृतिक बहाव र आकारमा असर परेको मात्र नभई त्यससँग जोडिएको जैविक विविधतासमेत प्रभावित भएको उनीहरूको भनाइ छ।

बरहथवा नगरपालिका–९ मूर्तियाका विश्वनाथ महतोका अनुसार आफूले थाहा पाउँदादेखि नै सोतीमा सफा पानी बग्ने गर्दथ्यो। स्थानीयले त्यही पानी पिउनदेखि पशुचौपाया नुहाउन र घरायसी कामसम्म प्रयोग गर्ने गरेका थिए।

आज भने सोतीको अवस्था देख्दा दुःख लाग्ने गरेको उहाँ बताउनुहुन्छ। बाल्यकालमा आफूहरूले यही खोलामा खेलेको र केही वर्षअघिसम्म स्थानीय जीवनको महत्वपूर्ण आधार रहेको सोती अहिले क्रमशः खुम्चिँदै गएको उहाँको अनुभव छ।

धार्मिक तथा सांस्कृतिक महत्वसमेत जोडिएको खोला

सोती खोलालाई स्थानीयले माईका रूपमा पूजा गर्ने परम्परा रहेको बताइएको छ। वर्षमा दुई पटक यही खोलामा निराहार व्रत बसेर छठ पर्व मनाउने गरिन्छ।

स्थानीयका अनुसार सोतीको मुहानदेखि करिब चार किलोमिटर क्षेत्रसम्म विगतमा विभिन्न स्थानमा जरुवा पानी पलाउने गरेको थियो। पछिल्ला वर्षहरूमा भने त्यस्ता प्राकृतिक मुहानबाट पानी निस्कने क्रम घट्दै गएको छ।

जरुवा पानीको मुहान भएकाले गर्मीमा पानी चिसो र जाडोमा तुलनात्मक रूपमा तातो हुने सोतीको विशेषता रहेको स्थानीयको भनाइ छ।

माछा, घुँगीलगायत जलचर पनि संकटमा

अतिक्रमण र पानीको बहाव घट्दै गएपछि सोतीमा पाइने झिँगे, बामलगायतका माछा तथा घुँगीजस्ता जलचर समेत प्रभावित भएका छन्।

स्थानीय युवा सोनुकुमार यादवका अनुसार विभिन्न बहानामा खोला क्षेत्रमाथि भइरहेको अतिक्रमण रोकिएको छैन। पानीको स्रोत नै कमजोर भएपछि खोलामा आश्रित जलचर तथा वनस्पतिको अस्तित्वसमेत संकटमा पर्न थालेको उहाँको भनाइ छ।

सोती खोला बागमती नगरपालिका–९ बाट सुरु भएर बरहथवा नगरपालिका, बसवरिया गाउँपालिका, धनकौल गाउँपालिका, रामनगर गाउँपालिका हुँदै बलरा नगरपालिका पुगेर वाग्मती नदीमा मिसिन्छ।

हजारौँ हेक्टर खेतीयोग्य जमिनमा असर पर्ने जोखिम

सोतीले आसपासका क्षेत्रका हजारौँ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउँदै आएको छ। खोलाको पानी घट्दै गएपछि यसको प्रत्यक्ष असर कृषि क्षेत्रमा पर्न थालेको छ।

स्थानीयका अनुसार अतिक्रमण र पानीको स्रोतमा आएको कमीलाई समयमै रोक्न नसके आगामी दिनमा सोतीमा निर्भर आधा दर्जन पालिकाका उर्वर जमिनमा सिँचाइको समस्या बढ्न सक्छ।

खोलामा करिब एक दर्जन बाँध निर्माण गरी नहर तथा कुलोमार्फत खेतमा सिँचाइ पुर्‍याउने गरिएको छ। तर खोलाको पानीको सतह घट्दै गएपछि ती संरचनामार्फत पर्याप्त पानी वितरण गर्नसमेत कठिन हुन थालेको छ।

किसान डिप बोरिङको भरमा

बरहथवा नगरपालिका–८ टाँडीका विक्रम यादवका अनुसार खोलामा पानीको मात्रा घटेपछि सिँचाइका लागि किसानबीच विवादसमेत हुने गरेको छ।

वर्षातको समयमा केही समय खोलामा पानी बग्ने भए पनि हिउँद सुरु भएपछि पानीको सतह निकै घट्ने गरेको उहाँको भनाइ छ।

सोतीको पानी बरहथवाको टाँडी बाँध, सोती खोला सिँचाइ बाँध, हिरापुर ब्यारेज, मानपुर ब्यारेज, रामनगर ब्यारेज, मनुसमारा बाँध र सुदामा ब्यारेज लगायतका संरचनामा थुनेर नहर तथा कुलोमार्फत खेतमा पुर्‍याउने गरिएको छ।

पछिल्लो तीन वर्षदेखि भने खोलाको पानी पर्याप्त नभएपछि किसानहरूले खेतमा डिप बोरिङ गरेर सिँचाइ गर्न थालेका छन्।

खोला नजिकै भएर पनि रातभर जाग्राम बसेर डिप बोरिङबाट पानी तान्नुपर्ने अवस्था आएको किसानहरूको भनाइ छ।

खोलाको प्राकृतिक बहावमा संरचना थपिँदै

सोती खोलाको समस्या पानीको स्रोत सुक्नुमा मात्रै सीमित छैन। खोलाको प्राकृतिक क्षेत्रमा पार्क, धर्मशाला तथा विभिन्न समुदायका सार्वजनिक भवनलगायतका संरचना निर्माण भएका छन्।

बरहथवा नगरपालिकाको मध्यभागबाट बग्ने सोतीले वर्षातको समयमा नगर क्षेत्रमा जम्मा हुने पानीको निकासको कामसमेत गर्छ। तर खोला किनारमा विभिन्न भौतिक संरचना निर्माण हुँदा वर्षातको पानी निकासमा समेत समस्या आउन सक्ने स्थानीयको चिन्ता छ।

खोला संरक्षण, छठघाट तथा अन्य योजनाका नाममा कतिपय क्षेत्रमा वातावरणीय प्रभावको पर्याप्त मूल्याङ्कन नगरी कङ्क्रिट संरचना निर्माण तथा ढलान गरिएको स्थानीयको गुनासो छ।

नगरपालिकाले करिडोर निर्माण गरेको दाबी

बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवालले खोला अतिक्रमण रोक्न नगरपालिकाले करिडोर निर्माण गरेको जानकारी दिनुभयो।

उहाँका अनुसार करिडोर निर्माणपछि खोलाको सीमा संरक्षण हुनुका साथै अतिक्रमण रोक्न सहयोग पुग्नेछ।

तर खोला किनारमा प्रदेश तथा संघीय सरकारका विभिन्न योजनाहरू स्थानीय तहसँग पर्याप्त समन्वय नगरी आउने गरेको उहाँको गुनासो छ।

उहाँका अनुसार कतिपय योजनामा खोला किनारमा तारजाली गर्ने, बाटो बनाउने वा सार्वजनिक भवन निर्माण गर्ने प्रस्ताव आउने गरेका छन्। स्थानीय तहले रोक्न खोज्दा पनि विरोध हुने र संरचना निर्माण भइसकेपछि मात्रै नगरपालिकाले त्यसबारे जानकारी पाउने अवस्था रहेको उहाँको भनाइ छ।

संरक्षण र विकासबीच समन्वयको आवश्यकता

बरहथवा नगरपालिका क्षेत्रमा सोती नदी किनारमा फनपार्क, सार्वजनिक भवन तथा खुला व्यायामशाला निर्माण भएका छन्।

स्थानीय सरकार सञ्चालन ऐनले प्राकृतिक स्रोत, धार्मिक सम्पदा तथा जैविक विविधताको संरक्षण र संवर्द्धनको जिम्मेवारी स्थानीय तहलाई दिएको छ। तर प्राकृतिक स्रोत संरक्षण र पूर्वाधार विकासबीच पर्याप्त समन्वय हुन नसक्दा सोतीजस्ता प्राकृतिक जलस्रोत संकटमा पर्दै गएको देखिन्छ।

स्थानीयका लागि सोती केवल एउटा खोला होइन—खानेपानी, सिँचाइ, जैविक विविधता, धार्मिक आस्था र वर्षातको निकाससँग जोडिएको प्राकृतिक प्रणाली हो।

सिमसार क्षेत्र संरक्षण, खोलाको प्राकृतिक बहाव कायम राख्ने, अतिक्रमण नियन्त्रण गर्ने तथा खोला किनारमा संरचना निर्माण गर्दा वातावरणीय प्रभावको मूल्याङ्कन गर्ने काम प्रभावकारी रूपमा अघि बढाउन नसके सोतीको अस्तित्व थप संकटमा पर्न सक्ने स्थानीयको चिन्ता छ।

प्राकृतिक मुहान सुक्दै गएको र खोलाको पानीको सतह निरन्तर घटिरहेको अवस्थामा यसको असर तत्कालीन कृषि उत्पादनमा मात्र नभई आगामी पुस्ताको पानीको उपलब्धतासम्म पुग्न सक्ने भएकाले सोती खोलाको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखिएको छ।