बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

56 Shares

बागलुङ । मिर्गौलाका बिरामीको चाप बढ्दै गएपछि धौलागिरि प्रादेशिक अस्पताल बागलुङले डायलाइसिस सेवा विस्तार गरेको छ। अस्पतालले आइतबारदेखि थप चार वटा डायलाइसिस उपकरण सञ्चालनमा ल्याएसँगै सेवाको क्षमता बढेको हो।

यसअघि अस्पतालमा रहेका ८ वटा उपकरणमार्फत ६१ जना मिर्गौलापीडितलाई डायलाइसिस सेवा दिइँदै आएको थियो। थप चार वटा उपकरण सञ्चालनमा आएपछि अस्पतालमा डायलाइसिस उपकरणको सङ्ख्या १२ पुगेको छ भने अब ७१ जनासम्मलाई सेवा दिन सहज हुने अस्पतालले जनाएको छ।

डायलाइसिसका लागि पालो कुर्ने बिरामीको सङ्ख्या बढ्दै गएपछि गण्डकी प्रदेश सरकारको सहयोगमा भवन तथा सेवा क्षमता विस्तार गरिएको डायलाइसिस शाखाप्रमुख तथा वरिष्ठ नर्सिङ अधिकृत निमा हिताङले जानकारी दिनुभयो।

सरुवा रोग भएका बिरामीका लागि छुट्टै शय्या

सेवा विस्तारसँगै अस्पतालले सरुवा रोग भएका मिर्गौलाका बिरामीका लागि छुट्टै शय्याको व्यवस्था समेत गरेको छ।

यसअघि सरुवा रोग भएका बिरामीका लागि छुट्टै शय्या नहुँदा अन्य बिरामीमा संक्रमण फैलिन सक्ने जोखिम रहेको थियो। नयाँ व्यवस्थाले त्यस्ता बिरामीलाई छुट्टै राखेर डायलाइसिस सेवा दिन सहज हुने अस्पतालको भनाइ छ।

वरिष्ठ नर्सिङ अधिकृत हिताङका अनुसार मिर्गौलाले काम गर्न छाडेका बिरामीले आफ्नो स्वास्थ्य अवस्थाअनुसार सातामा दुईदेखि तीन पटकसम्म डायलाइसिस गर्नुपर्ने हुन्छ। नियमित रूपमा डायलाइसिस आवश्यक पर्ने भएकाले उपकरणको अभाव हुँदा बिरामीले लामो समयसम्म पालो कुर्नुपर्ने अवस्था थियो।

४० लाख रुपैयाँ लगानी

डायलाइसिस सेवा विस्तारका लागि गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा २० लाख रुपैयाँ र अस्पताल व्यवस्थापन समितिले २० लाख रुपैयाँ गरी कुल ४० लाख रुपैयाँ खर्च गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्माले जानकारी दिनुभयो।

उक्त रकमबाट डायलाइसिस विभागको भवनमा एक तला थप गर्नुका साथै आवश्यक चार वटा नयाँ डायलाइसिस उपकरण खरिद गरिएको हो।

अध्यक्ष शर्माका अनुसार भवन विस्तारसँगै उपकरण व्यवस्थापन गरेर सेवा विस्तार गरिएको हो। यसअघि लामो समयदेखि पालो कुर्नुपर्ने बाध्यतामा रहेका र डायलाइसिसका लागि पोखरा तथा काठमाडौंसम्म पुग्नुपर्ने १० जना मिर्गौला फेल भएका सेवाग्राहीलाई थप सेवा दिन थालिएको उहाँले बताउनुभयो।

पोखरा र काठमाडौं धाउनुपर्ने बाध्यता घट्ने अपेक्षा

डायलाइसिस सेवा लिनका लागि लामो दूरी यात्रा गर्नुपर्ने बाध्यता रहेका बिरामीलाई अस्पतालमै थप सेवा उपलब्ध भएपछि केही राहत पुग्ने अपेक्षा गरिएको छ।

विशेषगरी नियमित रूपमा डायलाइसिस गराउनुपर्ने बिरामीले पालो नपाउँदा पोखरा तथा काठमाडौंसम्म पुग्नुपर्ने अवस्था थियो। अस्पतालमा उपकरण थपिएसँगै स्थानीयस्तरमै सेवा पाउने बिरामीको सङ्ख्या बढ्ने र उपचारका लागि बाहिरी जिल्ला धाउनुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।

अस्पतालले बढ्दो बिरामीको चापअनुसार आगामी दिनमा पनि आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन गर्दै डायलाइसिस सेवाको गुणस्तर तथा पहुँच थप विस्तार गर्ने जनाएको छ।