राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधि सभाबाट पारित

20 Shares

काठमाडाैं । राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई प्रतिनिधि सभाबाट पारित भएको छ ।

सभाको सोमवारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राखेको राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई पारित गरियोस् भन्ने प्रश्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

यसअघि विधेयकको राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनमाथि छलफल भएको थियो । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले विधेयकले बालबालिकाको अधिकार र हितलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

नेपाल सरकारले आवश्यक देखेमा राष्ट्रिय आवश्यकताको आधारमा जुनसुकै नेपाली नागरिक वा संस्थालाई समेत सेवा दलले तालिम दिन सक्ने र उनीहरूलाई राष्ट्र सेवामा खटाउन सक्ने व्यवस्था गरिएको मन्त्री गौतमले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘बालबालिकाको अधिकार सर्वोपरि राखेर काम कारबाही गराउने विधेयकको स्पिरिट हो । नेपालको संविधान भन्दा बाहिर गएर कुनै पनि कानूनहरू बनाउन पाइँदैन, मिल्दैन । अहिले बनेको हाम्रो राष्ट्रिय सेवा दलसम्बन्धी विधेयक पनि बालबालिकाको हितलाई केन्द्रमा राखिएर नै बनाइएको छ । सेवा दलमा तालिम लिने विषयवस्तुका विषयमा बालबालिकाको मानसिक तथा शारिरिक हिसाबले पनि तयार हुनुपर्ने हुन्छ ।

त्यसको निश्चित मापदण्ड हुन्छ । सोहीअनुसार हुन्छ ।’ विधेयकमा विद्यार्थी अध्ययनरत विद्यालय तथा सेवा दलको शिक्षालयमा तालिम हुने भनिएको छ । तालिम पूरा गरेका विद्यार्थीलाई सार्वजनिक सेवा, पूर्वाधार विकास, विपद् व्यवस्थापन, महामारी नियन्त्रण र पर्यावरण संरक्षण जस्ता क्षेत्रमा स्वयंसेवकका रूपमा परिचालन मन्त्री गौतमले जानकारी दिनुभयो ।