काठमाडौं । यती एअरलाइन्सले आफ्नो व्यावसायिक उडानको २८ वर्ष पूरा गरेको छ । सन् १९९८ मा व्यावसायिक उडान सुरु गरेको कम्पनीले पछिल्लो एक वर्षमा ९ लाख यात्रुलाई सेवा दिएको जनाएको छ ।
कम्पनीका अनुसार २८ वर्षको यात्रामा सेवा विस्तारसँगै यात्रुको विश्वास, उड्डयन सुरक्षा र यात्रु अनुभवलाई व्यवसायको महत्वपूर्ण आधार बनाउँदै आएको छ ।
बदलिँदो बजार, बढ्दो प्रतिस्पर्धा र यात्रुको अपेक्षालाई ध्यानमा राख्दै सेवा गुणस्तर तथा सञ्चालन दक्षतामा निरन्तर सुधार गर्दै आएको कम्पनीको भनाइ छ ।
नेपालको आन्तरिक हवाई बजारमा सञ्चालन लागत, विमानस्थल पूर्वाधार, मौसमजन्य अवरोध तथा सडक यातायातसँगको प्रतिस्पर्धाजस्ता चुनौती रहे पनि एक वर्षमा ९ लाख यात्रुलाई सेवा दिन सक्नु महत्वपूर्ण उपलब्धि भएको कम्पनीले जनाएको छ ।
यात्रु संख्या मात्रै नभई यात्रु अनुभव, सेवा विश्वसनीयता, सञ्चालन दक्षता र ग्राहक सम्बन्धलाई समेत कम्पनीले आफ्नो व्यवसायको महत्वपूर्ण पक्षका रूपमा लिएको जनाएको छ ।
यात्रुको सहजतालाई ध्यानमा राख्दै टिकट बुकिङदेखि विमानस्थल सेवा र उडान अनुभवसम्मका प्रक्रियालाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको कम्पनीले जनाएको छ । यात्रुका सुझाव तथा प्रतिक्रियालाई सेवा सुधारको आधार बनाउँदै डिजिटल माध्यम र ग्राहक सम्पर्क प्रणालीलाई समेत प्रभावकारी बनाउनेतर्फ कम्पनी केन्द्रित रहेको बताइएको छ ।
कम्पनीले उड्डयन सुरक्षालाई आफ्नो व्यवसायको मुख्य आधारका रूपमा राख्दै आएको जनाएको छ । सञ्चालन प्रक्रिया, नियमित प्राविधिक निगरानी, चालक दल तथा प्राविधिक जनशक्तिको तालिम र सुरक्षा व्यवस्थापन प्रणालीमा निरन्तर सुधार गर्दै आएको कम्पनीको भनाइ छ ।
नेपालको भौगोलिक अवस्थाका कारण हवाई यातायात पर्यटन, व्यापार, स्वास्थ्य, शिक्षा तथा आन्तरिक आवागमनका लागि महत्वपूर्ण माध्यम रहेको कम्पनीले जनाएको छ । विभिन्न प्रमुख शहर तथा पर्यटकीय गन्तव्यलाई हवाई सेवामार्फत जोड्दै आएको यतीको दाबी छ ।
२८औँ वार्षिकोत्सवका अवसरमा कम्पनीले आगामी दिनमा यात्रुको मागअनुसार सेवा सुधार, सञ्चालन दक्षता अभिवृद्धि, डिजिटल प्रविधिको प्रयोग तथा ग्राहक अनुभवलाई थप सहज बनाउने विषयलाई प्राथमिकतामा राखेको जनाएको छ ।
२८ वर्षको अनुभव र पछिल्लो एक वर्षमा ९ लाख यात्रुलाई प्रदान गरेको सेवाबाट प्राप्त अनुभवलाई आधार बनाउँदै सुरक्षित, भरपर्दो र यात्रुमैत्री हवाई सेवा विस्तार गर्ने कम्पनीले प्रतिबद्धता जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया