काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रसुवाको भोटेकोशी बाढीपछिको राहत, उद्धार, पुनर्निर्माण तथा पुनर्स्थापनाको काम थप प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय चःमतीमा बसेको सचिवालय बैठकले विपद्पछिको खोज, उद्धार तथा राहतमा कुनै कसर बाँकी नराख्न सरकारलाई आग्रह गरेको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
उनका अनुसार बैठकमा सरकारका प्रतिनिधिले रसुवा बाढीपछिको खोज, उद्धार तथा राहतको अवस्थाबारे ब्रिफिङ गरेका थिए । खोज, उद्धार तथा राहतको काम प्रभावकारी रूपमा अघि बढिरहेको र पुनर्निर्माण तथा पुनर्स्थापनाको काम पनि सँगसँगै अघि बढाइएको जानकारी बैठकमा गराइएको खरेलले बताए ।
‘सचिवालय बैठकले धेरै विषयमा गहन छलफल गरेको छ । सबैभन्दा महत्वपूर्ण रूपमा रसुवाको भोटेकोशीमा आएको बाढीपछिको प्रतिकार्यका बारेमा छलफल भएको थियो । बैठकमा विपद्पछिको खोज, उद्धार र राहतमा कसरी काम भइरहेको छ भनेर सरकारका प्रतिनिधिका रूपमा सचिवालय सदस्यबाट ब्रिफिङ भएको छ,’ उनले भने ।
बाढीपछि अझै पहिचान हुन नसकेका शवको डीएनए परीक्षण यथाशीघ्र गरी पीडित परिवारलाई राहत उपलब्ध गराउनुपर्नेमा बैठकले जोड दिएको खरेलले बताए ।
‘उहाँहरूले खोजी, उद्धार तथा राहतको काम प्रभावकारी ढंगले अगाडि बढेको र अझै पनि जारी रहेको तथा पुनर्निर्माण र पुनर्स्थापनाको कामसमेत सँगसँगै भइरहेको जानकारी दिनुभएको छ । विपद्पछिको राहत तथा पुनर्स्थापनामा कुनै पनि कसर बाँकी नराख्न पार्टीले आग्रह गरेको छ,’ उनले भने ।
खरेलका अनुसार अझै सम्पर्कविहीन नागरिकको अवस्था तत्काल यकिन गर्नुपर्नेमा पनि बैठकले जोड दिएको छ । कानुनी अवरोध भए आवश्यक कानुनी व्यवस्था गरेर परिवारको सहमतिमा प्रक्रिया अघि बढाउनुपर्ने निष्कर्ष बैठकले निकालेको उनले बताए ।
‘पहिचान हुन नसकेका शवहरूको डीएनए परीक्षण छिटोभन्दा छिटो हुनुपर्यो र पीडित परिवारलाई राहत दिनुपर्यो भन्ने कुरा नै मुख्य रूपमा रहेको छ । आज पनि पाँच हजार नागरिक मिसिङ हुनुभएको छ । उहाँहरूको अवस्था पनि छिटो तय गरेर यसमा कुनै कानुनहरू अवरोध छन् भने कानुन बनाएर भए पनि डिक्लेयर गर्ने कुरामा परिवारको सहमतिमा सहजीकरण गर्ने कुरा भएको छ,’ उनले भने ।
यसैबीच, १० भदौमा आएको रसुवा बाढीपछि स्थगित गरिएका पार्टीका गतिविधि पनि आइतबारदेखि नै पुनः सञ्चालन गर्ने निर्णय भएको खरेलले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया