काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठन तथा चुनावी समीक्षासम्बन्धी कार्यदलले विभिन्न मस्यौदालाई एकीकृत गरी केन्द्रीय सचिवालयमा साझा प्रतिवेदन पेस गर्ने निर्णय गरेको छ।
एमाले सचिव पद्मा अर्यालले कार्यदलले एकमतका साथ तयार पारेको साझा प्रतिवेदन सचिवालयमा पेस गर्ने निर्णय भएको जानकारी दिनुभएको हो।
कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टीभित्र फरक–फरक प्रतिवेदन तयार भएको भन्ने चर्चाको खण्डन गर्दै तीनवटा छुट्टाछुट्टै प्रतिवेदन नभई विभिन्न कोणबाट आएका विषयगत मस्यौदा मात्रै रहेको स्पष्ट पार्नुभयो।
‘तीनवटा प्रतिवेदन होइन, ती केवल विषयगत मस्यौदाहरू मात्र थिए। हिजो विभिन्न कोणबाट आएका सुझाव मस्यौदा हुन्। कार्यदलले एकीकृत गरेर फाइनल गरेपछि मात्र त्यो प्रतिवेदन हुन्छ,’ उहाँले भन्नुभयो।
उहाँका अनुसार आजको बैठकमा कार्यदलका संयोजकले प्रस्तुत गर्नुभएको मस्यौदामाथि आवश्यक छलफल तथा थपघट गरी प्रतिवेदनलाई सर्वसम्मत रूपमा पारित गरिएको हो।
बैठकमा एमालेलाई कसरी एकताबद्ध बनाएर अघि बढाउने भन्ने विषयमा गम्भीर छलफल भएको सचिव अर्यालले बताउनुभयो। प्रतिवेदनमा समेटिनुपर्ने विभिन्न विषय र तिनका विविध पक्षमाथि विस्तृत छलफल गरिएको उहाँले जानकारी दिनुभयो।
पार्टी पुनर्गठनका नाममा नेतृत्व परिवर्तनको विषय प्रतिवेदनमा समावेश हुन्छ कि हुँदैन भन्ने सञ्चारकर्मीको प्रश्नमा सचिव अर्यालले नेतृत्व पुनर्गठनसँग सम्बन्धित विषय प्रतिवेदनमा समावेश नगरिने स्पष्ट पार्नुभयो।
उहाँले कार्यदलले नेतृत्व पुनर्गठनसँग जोडिएका कुनै पनि विषय प्रतिवेदनमा पेस नगर्ने बताउनुभयो। कार्यदलले तयार पारेको साझा प्रतिवेदन अब केन्द्रीय सचिवालयमा पेस गरिनेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया