अनेरास्ववियुका नेता चेतनदीप अयडीको ह-त्या प्रकरणमा ६ जनालाई जन्मकैदको फैसला

14 Shares

काठमाडौं। बाजुरा जिल्ला अदालतले अनेरास्ववियुका नेता चेतनदीप अयडीको हत्या प्रकरणमा ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

अदालतले हत्या प्रकरणमा संलग्न रहेको ठहर गर्दै ६ जनालाई जन्मकैद अर्थात २५ वर्ष कैद सजाय सुनाएको हो। जन्मकैदको सजाय पाउनेमा शेरबहादुर अयडी, सागर अयडी, लोकेश अयडी, खेमराज अयडी, जीवन अयडी र धनराज थापा रहेका छन्।त्यस्तै, मुद्दामा प्रतिवादी बनाइएका २४ जनामध्ये बाँकी १८ जनालाई अदालतले सफाइ दिएको जनाइएको छ। अदालतले दोषी ठहर भएका ६ जनाबाट जनही १ लाख रुपैयाँ क्षतिपूर्ति समेत भराउने फैसला गरेकाे हाे।

चेतनदीप अयडीको हत्या २०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा बाजुराको कैलाशमाडौं क्षेत्रमा भएको थियो। निर्वाचनको क्रममा अयडीको घर घेरा हालेर कुटपिट गरिएको र सोही क्रममा उनको मृत्यु भएको अभियोगमा २४ जना विरुद्ध मुद्दा दायर भएको थियो। घटना भएको करिब चार वर्षपछि मुद्दाको सुनुवाइ र बहस टुंगिएको हो। बाजुरा जिल्ला अदालतमा न्यायाधीश ताराप्रसाद डाँगीको इजलासमा मुद्दाको सुनुवाइ भएको थियो।

जाहेरवाला चेतनका बुबा गगन अयडीका तर्फबाट सरकारी वकिल सहित वरिष्ठ अधिवक्ताहरुले बहस गरेका थिए । प्रतिवादीका तर्फबाट पनि कानून व्यवसायीहरुले बहस गरेका थिए। यस अघि मुद्दामा २४ जना प्रतिवादी मध्ये ७ जना पुर्पक्षका लागि थुनामा रहेका, ११ जना धरौटीमा र ६ जना साधारण तारिखमा रहेको अदालत सम्बन्धी विवरण सार्वजनिक भएको थियो।

चेतन अयडीको हत्या निर्वाचनकै क्रममा भएको र लामो समयसम्म मुद्दा अदालतमा विचाराधीन रहेकाले यो प्रकरण बाजुराको राजनीतिक तथा सामाजिक वृत्तमा समेत चासोको विषय बन्दै आएको थियो। अदालतको फैसलासँगै करिब चार वर्षदेखि विचाराधीन चेतन अयडी हत्या प्रकरणले कानूनी निष्कर्ष पाएको छ।