ग्यास प्रतिसिलिन्डर २ हजार ६० रूपैयाँमा बिक्री गर्न उद्योगीहरूलाई एलपी ग्यास संघकाे निर्देशन

14 Shares

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य पुरानै दर (प्रतिसिलिन्डर २,०६० रुपैयाँ) मा बिक्री वितरण गर्न उद्योगीहरूलाई निर्देशन दिएको छ।

संघले पृथ्वी राजमार्गमा वैकल्पिक ट्याक खुलेर ग्यास बुलेटहरू सिधै काठमाडौं आउन थालेपछि ढुवानी भाडाबापत थपिएको रकम हटाउँदै पूर्ववत मूल्य कायम गरेको जनाएकाे हो । गत भदौ १४ गते कृष्णभीर क्षेत्रमा त्रिशूली नदीको भीषण बाढीले पृथ्वी राजमार्ग कटान गरेपछि सडक अवरुद्ध भएको थियो ।

सडक अवरोधका कारण उपत्यकामा ग्यास आपूर्ति सहज बनाउन उद्योगीहरूले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषाका प्लान्टहरूबाट सिलिन्डर रिफिल गरी वैकल्पिक मार्ग हुँदै ट्रक मार्फत उपत्यकामा ग्यास ल्याइरहेकाे थियाे । लामो र वैकल्पिक मार्ग प्रयोग गर्दा ढुवानी खर्च बढेपछि संघले भदौ १८ गते विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले तोकेको प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा १०५ रुपैयाँ ३८ पैसा ढुवानी भाडा थप गरी अधिकतम २ हजार १६५ रुपैयाँ ३८ पैसामा बिक्री गर्न अनुरोध गरेको थियो ।

तर हाल अवरुद्ध सडक खण्डमा वैकल्पिक ट्याक खुलेर यातायात सञ्चालनमा आइसकेको र ग्यास बुलेटहरू सिधै उपत्यका भित्रिन थालेकाले वैकल्पिक मार्गबाट ग्यास ल्याउनुपर्ने बाध्यता हटेको संघले जनाएको छ । संघका अध्यक्ष दिवान चन्दद्वारा जारी विज्ञप्ति अनुसार शुक्रबारदेखि लागू हुने गरी निगमले तोकेकै प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढी नहुने गरी ग्यास बिक्री वितरण गर्न तथा सोही अनुसार आ-आफ्ना विक्रेताहरूलाई जानकारी गराउन सम्पूर्ण ग्यास उद्योगीहरूलाई आग्रह गरिएको हाे।