काठमाडौं । मधेस प्रदेशमा आफूलाई धपाइएको भन्ने भाइरल भिडियो पूर्णत: भ्रामक र सन्दर्भ तोडमरोड गरेर पोस्ट गरिएको शिक्षामन्त्री सस्मित पोखरेलले स्पष्ट पारेका छन् ।
विद्यालय शिक्षालाई थप व्यवहारिक र सीपमूलक बनाउन राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सुझाव सङ्कलन गर्न आफूहरू हाल मधेस प्रदेशका विभिन्न जिल्लाका विद्यालय र क्याम्पसमै पुगेर काम गरिरहेको उनले जानकारी दिए ।
सिरहा र सप्तरीमा १०० जनाभन्दा बढी सरोकारवाला सहभागी कार्यक्रममा दुई जना व्यक्तिले हुल्याहा व्यवहार देखाएपछि अन्य सहभागीको वातावरण प्रभावित नहोस् भनेर मात्र आफूहरू बाहिरिएको मन्त्री पोखरेलले उल्लेख गरे । सोही घटनाको एक मिनेटभन्दा छोटो क्लिप काटेर अनावश्यक भ्रम फैलाउने प्रयास भएको भन्दै उनले कुनै पनि भ्रामक प्रचारले शिक्षा सुधारको मूल उद्देश्य रोक्न नसक्ने औंल्याए ।
भिडियो भाइरल गराइएपछि पनि आफूहरूले मधेस छोडेको नभई सिरहाकै बहिरा बालबालिका पढ्ने विद्यालय र मदरसा शिक्षालयसहित ८–१० वटा विद्यालयमा पुगेर संवाद गरेको मन्त्री पोखरेलले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीको बढ्दो प्रभाव र शिक्षा सुधारका सकारात्मक काम देखेर अत्तालिएकाहरूले यस्तो हर्कत गरेको दाबी गर्दै उनले आफूहरू भोलि सप्तरी हुँदै मोरङतर्फ लाग्ने र ग्राउन्डमै बसेर काम गरिरहने स्पष्ट पारे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया