त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

70 Shares

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकामध्ये २४४ जनाको शव त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्जमा ल्याइएको छ ।

त्रिभुवन शिक्षण अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा. गोपाल चौधरीले बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म २४४ शव अस्पतालमा ल्याइएको जानकारी दिएका छन् ।

अस्पतालमा ल्याइएका २४४ शवमध्ये १६१ शवको अस्थायी व्यवस्थापन गरिएको छ । यस्तै, २४ शवको पहिचान खुलेपछि परिवार तथा आफन्तलाई जिम्मा लगाइसकिएको डा. चौधरीले बताए ।

अस्पतालका अनुसार हाल ५९ शव अस्पतालमै रहेका छन् । तीमध्ये केही शवको पोस्टमार्टम गर्न बाँकी रहेको छ । पोस्टमार्टम प्रक्रिया पूरा भएपछि बाँकी शवको समेत आवश्यक व्यवस्थापन गरिने अस्पतालले जनाएको छ ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो मानवीय क्षति भएको थियो । बाढी तथा पहिरो प्रभावित क्षेत्रमा फेला परेका शवलाई पहिचान, पोस्टमार्टम तथा अन्य कानुनी प्रक्रिया पूरा गर्न विभिन्न माध्यमबाट त्रिभुवन शिक्षण अस्पताल ल्याउने गरिएको छ ।

अस्पतालमा ल्याइएका शवको पहिचान खुलाउन आवश्यक प्रक्रिया अघि बढाइएको र पहिचान भएका शव सम्बन्धित परिवारलाई बुझाउने काम भइरहेको डा. चौधरीले जानकारी दिएका छन् ।