काठमाडौं । माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा एक जनाको शव फेला परेको छ ।
आयोजनाका प्रमुख आवाश ओझाका अनुसार सुरक्षाकर्मीको उद्धार टोलीले सुरुङबाट एक जनाको शव बाहिर निकालेको हो । फेला परेको शवको पहिचान भने हुन बाँकी रहेको उनले बताए ।
यसअघि आयोजनाको सुरुङबाट दुई जनालाई जीवितै उद्धार गरिएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल विद्युत् प्राधिकरणको संयुक्त उद्धार टोलीले उनीहरूलाई जीवितै उद्धार गरेको हो ।
उद्धार गरिएका नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कविर महर्जनको काठमाडौंस्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ । सेनाका अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार माथिल्लो त्रिशूली–३ ए परियोजनाको सुरुङभित्र रहेको भूमिगत विद्युत् गृहमा करिब ४२ जना इन्जिनियर तथा कर्मचारी फसेको अनुमान गरिएको छ । तीमध्ये अधिकांश विद्युत् गृह क्षेत्रमा रहेको अनुमान छ ।
भूमिगत विद्युत् गृह क्षेत्रमा थप व्यक्तिलाई जीवितै उद्धार गर्न सकिने सम्भावनालाई ध्यानमा राख्दै खोजी तथा उद्धार कार्य जारी राखिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया