काठमाडौं । सप्तरीमा जापानिज इन्सेफ्लाइटिसका कारण दुई जनाको मृत्यु भएको छ । तिलाठी कोइलाडी गाउँपालिका-१ का ७४ वर्षीय सत्यनारायण यादव र राजगढ गाउँपालिका-३ का १४ वर्षीय शिवकुमार रामको जापानिज इन्सेफ्लाइटिसका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत शतिश यादवले जानकारी दिए ।
दुवै जनाको गत साउन २१ गते उपचारका क्रममा मृत्यु भएको थियो । यादवको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा र रामको गोल्डेन हस्पिटल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको बताउँदै स्वास्थ्य अधिकृत यादवले जापानिज इन्सेफ्लाइटिसबाट जिल्लामा अन्य तीन जना बिरामी भएका जानकारी दिए । बिरामीहरू उपचारपछि घर फर्किसकेका जनाउँदै उनले तीमध्ये दुई जनाको मृत्यु भएको उल्लेख गरे ।
स्वास्थ्य अधिकृत यादवले अहिलेको समयमा यो रोग लाग्न नदिन लामखुट्टेको टोकाइबाट बच्न आवश्यक रहेकामा जोड दिए । उनले साँझपख घर बाहिर ननिस्कने, खेतबारीमा काम गर्दा लामो बाउला भएका लुगा लगाउने, सुत्ने बेला झुलको प्रयोग गर्नेलगायत गरेमा लामखुट्टेको टोकाइबाट बच्न सकिने धारणा राखे ।
यसैबीच, कैलालीको घोडाघोडी नगरपालिकामा पनि जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । उपचारका क्रममा घोडाघोडी(४ र ९ का दुई जनाको मृत्यु भएको नगरपालिकाका सिनियर अहेब मानबहादुर बोहराले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा ३४ र ७० वर्षीया महिला छन् ।
सिनियर अहेब बोहराका अनुसार घोडाघोडीमा पछिल्लो तीन वर्षयता जापनिज इन्सेफलाइटिसका बिरामी देखिन थालेका हुन् । अघिल्लो आर्थिक वर्षमा वडा नं ४ का एक जनामा सङ्क्रमण देखिए पनि उपचारपछि उनी निको भएका थिए। आर्थिक वर्ष २०८१र८२ मा वडा नं ५ र ६ का दुई जनामा सङ्क्रमण देखिएको थियो भने यस वर्ष सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको हो ।
“जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो । सङ्क्रमित सुँगुर वा बङ्गुरलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा भाइरस सर्न सक्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्ने र घर वरिपरि सरसफाइमा विशेष ध्यान दिनुपर्दछ”, सिनियर अहेब बोहरले भने ।
सङ्क्रमण देखिएपछि घोडाघोडी नगरपालिकाको स्वास्थ्य शाखाले आज आकस्मिक बैठक बोलाएर रोगको अवस्था र रोकथामका उपायबारे छलफल गरेको छ । नगरपालिकाका १३ वटै स्वास्थ्य संस्थामार्फत जापानिज इन्सेफ्लाइटिसको जोखिम, लक्षण र बच्ने उपायबारे समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बोहराले बताए ।
उनका अनुसार नगरपालिकाका ८४ वटा आमा समूहलाई पनि परिचालन गरी रोगका लक्षण, रोकथामका उपाय र समयमा उपचारका लागि स्वास्थ्य संस्था पुग्नुपर्ने विषयमा जानकारी गराइनेछ । अत्यधिक ज्वरो आउने, बेहोस हुने लगायतका लक्षण देखिएमा बिरामीलाई तत्काल स्वास्थ्य संस्थामा पुर्याउन बोहराले आग्रह गरे । उनले लामखुट्टेको टोकाइबाट जोगिन झूल प्रयोग गर्ने, घर वरिपरि पानी जम्न नदिने तथा सरसफाइमा ध्यान दिनसमेत आग्रह गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया