संयुक्त राष्ट्र संघले इजरायली चरम दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन–गभिरको पछिल्लो अभिव्यक्तिको निन्दा गरेको छ । गाजामा नियतवश मानिसहरूको हत्या गर्न उक्साउने खालको टिप्पणी दिएको भन्दै राष्ट्र संघले आपत्ति जनाएको हो । बुधवार आयोजित पत्रकार सम्मेलनमा महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफेन दुजारिकले बेन–गभिरको भनाइलाई ’भयावह, अपमानजनक, अमानवीय र खतरनाक’ को संज्ञा दिनुभयो ।
उहाँले भन्नुभयो,‘हामी यस्ता अभिव्यक्तिको बिना सर्त निन्दा गर्दछौँ । मन्त्री बेन–गभिरले गत सप्ताहन्तमा प्रशारित एक पोडकास्टमा गाजामा हरेक रात ३० देखि ४० जनालाई ‘लक्षित हत्या’ गर्नुपर्ने बताउनुभएको थियो । उहाँले तत्काल खतरा नभएका व्यक्तिहरूलाई समेत मार्नुपर्ने आशय व्यक्त गर्दै उनीहरू ‘बाँच्न योग्य नभएको’ र ‘मान्छे समेत नभएको’ जस्ता विवादित टिप्पणी गर्नुभयो ।
गाजामा वन्धक बनाइएका पूर्व इजरायली नागरिक रोम ब्रास्लाभ्स्कीसँगको कुराकानीका क्रममा मन्त्री बेन–गभिरले उक्त उत्तेजित अभिव्यक्ति दिनुभएको हो । उहँँको यस टिप्पणीको यतिबेला अन्तर्राष्ट्रिय स्तरमा व्यापक आलोचना भइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया