काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्सले आफ्ना ग्राहकलाई दिंदै आएको ‘माई वर्ल्डलिङ्क’ फ्रि वाई-फाई सेवा बन्द गरेको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनपछि कम्पनीले ग्राहकका लागि उपलब्ध गराउँदै आएको यो सेवा स्थगित गरेको हो ।
यसअघि वर्ल्डलिङ्कका नियमित ग्राहकले ‘माई वर्ल्डलिङ्क’ एपमार्फत देशका विभिन्न सार्वजनिक स्थानमा उपलब्ध हट्सपटमा सहजै र स्वतः निःशुल्क इन्टरनेट सेवा प्रयोग गर्दै आएका थिए । तर नियामकको पछिल्लो निर्देशनपछि कम्पनीले यो सुविधा बन्द गर्नु परेको हो ।

‘माई वर्ल्डलिङ्क’ सेवा बन्द भए तापनि कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सञ्चालन गर्दै आएको ‘Free_WorldLink_Wi-Fi’ सेवा भने निरन्तर रहने जनाएको छ । यो सेवा प्रयोग गर्नका लागि भने वर्ल्डलिङ्ककै ग्राहक भइरहनुपर्ने बाध्यता छैन । सर्वसाधारण जोकोहीले पनि सार्वजनिक स्थानमा उपलब्ध यो फ्रि वाई-फाई सेवा प्रयोग गर्न सक्नेछन् ।
यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताले सार्वजनिक स्थानमा ‘Free_WorldLink_Wi-Fi’ मा कनेक्ट गरी त्यहाँ खुल्ने ‘क्याप्टिभ पोर्टल’ मार्फत लगइन गर्नुपर्नेछ । यस प्रक्रियामा प्रत्येक पटक नयाँ हट्सपटमा इन्टरनेट चलाउनका लागि प्रयोगकर्ताले आफ्नो मोबाइल नम्बर हालेर त्यसमा प्राप्त हुने ‘युनिक लगइन कोड’ प्रयोग गरी साइन-अप वा लगइन गर्नुपर्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया