बलिउड अभिनेता मिश्राकाे अब नेपाली चलचित्रमा अभिनय रहने

14 Shares

काठमाडौं । चलचित्र ‘ऊनको स्वीटर’ को सिक्वेलमा बलिउड अभिनेता पियूष मिश्राको अभिनय रहने भएको छ।

‘ऊनको स्वीटर’ को सिक्वेलको नाम ‘कलेजी: ऊनको स्वीटर’ राखिएको हाे । यो चलचित्रमा बलिउड अभिनेता पियूष मिश्रालाई नेपाली दर्शकले देख्ने भएका छन् । आगामी दशैंपछि छायांकन शुरु हुने चलचित्रका निर्देशक नवीन चौहानले ‘ऊनको स्वीटर’को संसार नयाँ आशा, नयाँ कथा र नयाँ यात्रासहित फेरि फर्किन लागेको बताएका हुन् ।

निर्देशक चौहानले यो सिनेमा सिक्वेल मात्र नभएर पात्रहरूको जीवन र उनीहरूको अधुरो यात्राको अर्को अध्याय हुने बताएका छन् । यस पटकको यात्रामा भारतीय कलाकार पियुष मिश्राको उपस्थितिले यो कथालाई अझ विशेष बनाउने उनको विश्वास छ ।

सिक्वेलमा पनि अघिल्लो चलचित्रकै हिट जोडी विपीन कार्की र मिरुना मगर मुख्य भूमिकामा दोहोरिने भएका हुन् । उनीहरूका साथै एलेक्स पारस र परीक्षा लिम्बुको पनि यस चलचित्रमा मुख्य भूमिका रहने भएकाे छ । साेही चलचित्रमा अभिषेक सुवेदीको सहलेखन र नवीन चौहानको लेखन रहने हाे ।