मानवसेवा आश्रमले साउनमा गर्‍यो २४८ जनाको उद्धार

12 Shares

काठमाडौं । मानव सेवा आश्रमले गत साउनमा देशका विभिन्न स्थानबाट २४८ जना सडक आश्रित मानवको उद्धार गरेको छ ।

उद्धार गरिएकामध्ये १५७ पुरुष र ९१ जना महिला रहेका छन् । उद्धार गरिएका व्यक्तिहरूलाई देशभर रहेका विभिन्न शाखामा संरक्षण प्रदान गरिएको आश्रमले जनाएको छ ।

उद्धारसँगै पारिवारिक पुनःमिलनलाई प्राथमिकतामा राखेको आश्रमले साउन महिनामा पारिवारिक विवरण पहिचान भएका १८८ जनालाई परिवारसँग भेट गराइएको जनाएको छ ।

लामो समयदेखि परिवारबाट टाढिएका वा सडकमा अलपत्र अवस्थामा रहेका व्यक्तिहरूको उद्धार गरी तथा पारिवारिक सम्बन्ध स्थापित गर्दै पुनः परिवारमाझ फर्काउने कार्यलाई आश्रमले अभियानकै रूपमा अघि बढाउँदै आएको छ ।

साउनमा सबैभन्दा बढी काठमाडौँस्थित पशुपति होल्डिङ सेन्टरबाट ८८ जनाको उद्धार गरिएको छ भने १७ जनाको पारिवारिक पुनःमिलन गराइएको छ । चितवन, रुपन्देहीस्थित तिलोत्तमा दाङ र सुनसरी शाखाले सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार गरेका छन् ।