सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोजेको सांसद धु्रव राईको आरोप

11 Shares

श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले वर्तमान सरकारको कार्यशैली र सत्ता पक्षीय सांसदहरूको भुमिकाप्रति टिप्पणी गर्नुभएको छ । सांसद राईले सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोजेको आरोप लगाउनु भएको छ । मंगलवार संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद राईले सत्ता पक्षकै सांसदहरू सरकारमाथि बढी आक्रामक देखिएको उल्लेख गर्दै यसले प्रतिपक्षको भुमिका ओझेलमा पर्न थालेको बताउनुभएको हो ।

उहाँले सत्ता पक्षका सांसदहरूले आफ्नै सरकारका मन्त्री र प्रधानमन्त्रीसँग प्रभावकारी समन्वय गरेर जनहितका काममा लाग्नुपर्नेमा जोड दिनुभयो । सरकार गठन भएको चार महिना बितिसक्दा पनि कुनै ठोस गति लिन नसकेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।

जनताले स्थिरता र विकासका लागि नयाँ शक्ति र वर्तमान गठबन्धनलाई विश्वास गरेको स्मरण गराउँदै उहाँले सरकारलाई पाँच वर्षको कार्यकाल पूरा गर्न र डेलिभरी दिन सुझाव दिनुभयो । मुलुकमा देखिएको ग्यास अभाव र बजारका समस्याबारे बोल्दै सांसद राईले सरकार जनताप्रति उत्तरदायी हुनुपर्ने बताउनु भयो ।