निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्न सभापति थापाको प्रतिवद्धता

23 Shares

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको विधान, संविधान र अदालतको आदेशानुसार तोकिएकै समयभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता रहेको बताउनुभएको छ । मंगलवार ललितपुरको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले समयको चापलाई मध्यनजर गर्दै कार्यतालिकाअनुसार अघि बढ्न निर्देशन दिनुभयो । सभापति थापाले पार्टी अहिले संवैधानिक व्यवस्था, विधान र अदालतको फैसलाले बाँधिएको उल्लेख गर्नुभयो ।

यसपटक क्रियाशील सदस्यताको विवरण डिजिटलाइज्ड भएकाले विगतको तुलनामा केही सहज हुने अपेक्षा राख्दै उहाँले प्रक्रियामा कुनैपनि प्रकारको अनियमितता वा पूर्वाग्रह हुन नहुनेमा सचेत गराउनु भयो । महाधिवेशनको औपचारिक प्रक्रिया प्रारम्भ भएको जानकारी दिँदै उहाँले निर्वाचन समितिले तय गरेको कार्यतालिकालाई पूर्ण रूपमा पालना गरिने स्पष्ट पार्नुभयो । केन्द्रिय कार्यसमितिले असोज १६ गतेको अन्तिम मिति र स्थान तय गरिसकेकाले सोही मितिलाई आधार मानेर जिल्ला तथा अन्य तहका अधिवेशनहरू सञ्चालन गर्न उहाँले आग्रह गर्नुभयो ।

सभापति थापाले जिल्ला तहमा हुने अधिवेशनमा कानून व्यवसायी, शिक्षक, प्राध्यापक लगायतका विभिन्न पेशाकर्मीहरूलाई समेत सहभागी गराई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो । विधानमा रहेका नयाँ व्यवस्थाहरू, निर्वाचन निर्देशिका र नियमहरूका बारेमा स्पष्ट भएर अघि बढ्दा भविष्यमा आउन सक्ने कानूनी जटिलताहरू कम हुने उहाँको भनाइ छ । उहाँले निर्वाचन समितिलाई आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न आग्रह गर्दै सबै पक्षले यस प्रक्रियामा अपनत्व महशुस गर्ने वातावरण निर्माण गरिने विश्वास व्यक्त गर्नुभयो ।