मकवानपुरको जिप दुर्घटनामा परि उच्च अदालतका रजिष्ट्रारकी श्रीमतीको उपचारका क्रममा मृत्यु

15 Shares

मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा मंगलबार बिहान भएको जिप दुर्घटनामा उच्च अदालत वीरगन्जका रजिष्ट्रार तारादत्त बडुकी ४९ वर्षीय श्रीमती लक्ष्मी बडुको मृत्यु भएको छ । बडु परिवार बैतडी दशरथचन्द नगरपालिका–७ का बासिन्दा हुन् ।

काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो मंगलबार बिहान करिब ७ः०० बजे अनियन्त्रित भई सडकबाट करिब ५० देखि ६० मिटर तल खोल्सामा खसेको थियो । दुर्घटनामा उच्च अदालत वीरगन्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी, गाडी चालक छुनिलाल चौधरी, रजिष्ट्रार तारादत्त बडु, उनकी श्रीमती लक्ष्मी बडु, छोरा रितेन्द्र बडु र दिदी रिता बडु गरी ६ जना घाइते भएका थिए ।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि सैनिक अस्पताल छाउनी ल्याइएको थियो । थप उपचारका लागि बिहान १०ः०४ बजे छाउनी पु¥याइएका घाइतेमध्ये लक्ष्मी बडुको उपचारकै क्रममा बिहान १०ः२९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकी उनको शव छाउनी अस्पतालमै राखिएको छ ।